काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गत वर्ष नै आयोजना हुनुपर्ने १०औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि अब अध्ययन समिति बनाएर अनुकूल समयमा गर्ने बताएका छन् ।
हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने नेपाली खेलकुदको विकासका लागि मेरुदण्ड रहेको राष्ट्रिय खेलकुदको १०औं संस्करण २०८१ साल मंसिरमा नै सम्पन्न हुनुपर्ने थियो । तर मन्त्री चौधरीको ढिला सुस्तीसँगै चासो नदिँदा कर्णाली प्रदेशमा तय १०औं खेलकुद हुन सकेको थिएन ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा वार्षिक कार्य सम्पादनको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री चौधरीले समयमा नै पूर्वाधार निर्माण हुन नसक्दा १०औं राष्ट्रिय खेलकुद गर्न नसकिएको दाबी गर्दै अबको एक अध्ययन समिति बनाएर अनुकूल समयमा आयोजना गर्ने बताए । सकेसम्म छिट्टै राष्ट्रिय खेलकुद आयोजना गर्न आफू तयार रहेको उनले बताए ।
मन्त्री चौधरीले आफ्नो वार्षिक कार्य सम्पादनको प्रगति विवरणमा अधिकांश विवादका घटना र आगामी दिनमा काम गर्ने योजना मात्र समावेश गरेका छन् । खेलकुदमन्त्री चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२२औं बोर्ड बैठकले सात वटा संघ विघटन गरी तदर्थ कमिटी बनाइएको थियो । त्यसमध्ये पाँच वटा संघको निर्वाचन भएको र एउटाको अदालतमा मुद्दा चलिरहेको मन्त्री चौधरीको भनाइ छ । अदालतको आदेशविपरित निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमिति अवैधानिक रहेको र त्यो कमिटीले गैरकानुनीरूपमा नेपालमा काम भइरहेको उनले बताए ।
अब छिट्टै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई पत्रकार गर्दै नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी गठन गर्ने प्रक्रिया अगाडि बढाइने मन्त्री चौधरीले उल्लेख गरे । २०औं एसियाली खेलकुद र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि तदर्थ कमिटीबाट काम अगाडि बढाउने उनको भनाइ छ ।
उनले एनओसीको एउटा बैंकको खाता रोकिएको र व्यक्तिगत कामभन्दा बाहेक एनओसीको कार्यक्रममा सहभागी हुनबाट रोकेको उल्लेख गरे । मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) कानुनसम्मत रूपमा आयोजना होस् भन्ने मात्र आफ्नो चाहना रहेको र त्यसको आयोजना रोक्न आफूले कुनैपनि गतिविधि नगरेको स्पष्ट पारे ।
एनपीएलमा भ्रष्टचार भएको विषयमा अख्तियारमा उजुरी परेको र त्यस विषयका बारेमा आफूले नेपाल क्रिकेट संघ (क्यान)सँग आवश्यक कागजात माग गरे पनि उपलब्ध नगराएको मन्त्री चौधरीले दाबी गरे । एनपीएलमा भ्रष्टाचार भएको विषयमा छानबिन समिति गठन गरिएको र त्यो समितिले छिट्टै प्रतिवेदन पेस गर्ने मन्त्री चौधरीको भनाइ छ ।
उनले खेलकुद परिषद्ले आन्तरिक रूपमा गर्ने आम्दानीलाई पारदर्शी बनाउन निर्देशन भएको बताए । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको पनि मन्त्री चौधरीले उल्लेख गरे ।