२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

अस्ट्रेलियामा सिरिज खेल्ने नेपाली टोलीको घोषणा

shivam cement
२०८२ साउन १९ गते १९:४०
Shares
अस्ट्रेलियामा सिरिज खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं : आगामी अगस्टमा अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सो सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछने, कुशल भुर्तेल, आसिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी, आरिफ शेख, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी, भीम सार्की, रिजन ढकाल, लोकेश बम र रुपेश सिंह रहेका छन् ।

नेपाली टोलीले अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनस्थित नर्दन टेरिटोरीमा आयोजना हुने उक्त सिरिजमा सहभागिता जनाउने छ ।

सिरिज क्रिकेट अस्ट्रेलियाको स्वीकृति प्राप्त नर्दन टेरिटोरी क्रिकेटले आयोजना गर्दै आएको टी–२० ढाँचाको वार्षिक प्रतियोगिता हो । यो प्रतियोगिता सामान्यतः अस्ट्रेलियन बिग बास लिगको पूर्वतयारीका रूपमा पनि लिइन्छ ।

सिरिजमा चारवटा अन्तर्राष्ट्रिय टिमसहित ११ टोली सहभागी हुनेछन् । तीमध्ये ६ टिम अस्ट्रेलियाका राज्य स्तरीय घरेलु टोली, एक स्थानीय टिम एनटी स्ट्राइक र बाँकी विदेशी टोली हुनेछन् ।

अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ । त्यसपछि नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, अगस्ट १८ मा मेलबर्न स्टार्स, अगस्ट १९ मा होबर्ट हुरिकेन्स, अगस्ट २० मा मेलबर्नसँग र अगस्ट २२ मा पाकिस्तान साहिन्सासँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानले अस्ट्रेलियाको मैदानमा हुने प्रतिस्पर्धालाई नेपाली खेलाडीहरूका लागि ठुलो अवसरका रूपमा लिएको छ । आगामी अक्टोबरमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोट खेल्दैछ । त्यसको तयारीका लागि टप एन्ड टी–२० सिरिजलाई उपयोगी मानिएको हो ।

यसैबीच नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखला समेत खेल्ने तय भएको छ ।

ताजा खबर

सम्बन्धित खबर