२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया जाने नेपाली टोलीको बिदाइ

shivam cement
२०८२ साउन २५ गते २०:०४
Shares
टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया जाने नेपाली टोलीको बिदाइ

काठमाडौं : अस्ट्रेलियाको डार्बिनमा यही अगस्ट १४ देखि २४ सम्म हुने टप एन्ड टी–२० क्रिकेट सिरिजमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली सोमबार बिहान अस्ट्रेलिया प्रस्थान गर्दैछ ।

बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, महासचिव पारस खड्कालगायतका पदाधिकारीले टोलीलाई सफलताको शुभकामना दिएका थिए ।

टप एन्ड टी–२० क्रिकेट सिरिज यस संस्करणमा नेपालसहित ११ टोली सहभागी छन् । नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । प्रतिस्पर्धामा पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’, अमेरिकाको शिकागो किङ्समेनसहित अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोली– होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स, एसीटी कोमेट्स र स्थानीय नर्दर्न टेरिटोरी स्ट्राइक छन् ।

लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् र विजेता दुई टोलीबीच फाइनल हुनेछ । नेपाल फाइनलसम्म पुगेमा कुल ८ खेल खेल्नेछ । सन् २०२३ को अघिल्लो संस्करणमा जम्मा पाँच टोली मात्र सहभागी भए पनि यसपटक सहभागीको संख्या दोब्बर भइसकेको छ ।

नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ । नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, अगस्ट १८ मा मेलबर्न स्टार्स, अगस्ट १९ मा होबार्ट हुरिकेन्स, अगस्ट २० मा मेलबर्न रेनेगेड्स र अगस्ट २२ मा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने छ ।

क्यानका अनुसार यो भ्रमण आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त संयुक्त छनोट प्रतियोगिताको तयारी स्वरूप हो । उक्त छनोटमा नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

यसअघि, नेपालले अस्ट्रेलियाको यो यात्रा सकेर सेप्टेम्बरमा यूएईमा वेस्ट इन्डिजसँग ऐतिहासिक तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ ।

मुख्य प्रशिक्षक स्टुअर्ट लले टप एन्ड टी–२० सिरिजले टोलीलाई उत्कृष्ट प्रतिस्पर्धात्मक अनुभव दिने बताए । कप्तान रोहित पौडेलले पनि प्रतिस्पर्धी टोलीहरूको स्तर उच्च भएकाले विश्वकप छनोटका लागि बलियो तयारी हुने विश्वास व्यक्त गरे ।

टोलीमा ललित राजवंशीको स्थानमा साहब आलम जाने भएका छन् । ललितको आमाको निधन भएपछि साहब जान लागेको क्यानले जानकारी दिएको छ । 

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, आरिफ शेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहब आलम रहेका छन् ।

सम्बन्धित खबर