काठमाडौं : अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो ।
होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए । यस्तै चार्ली वाकिमले २८ रन बनाए भने जेन कर्टेन २० रनमा अविजित रहे ।
नेपालको जितमा नन्दन यादवले सर्वाधिक ५ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दै १७ रन खर्चिए । त्यस्तै कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, रिजन ढकालले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए । यस्तै आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रन बनाउँदा लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे । होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन दिएर २ विकेट लिए ।
नेपाल यसअघिका ३ वटै खेलमा पराजित भएको थियो । नेपालले अब बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्ने तालिका रहेको छ ।