काठमाडौं : अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलाअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पाकिस्तान साहीन्ससँग एक रनले पराजित भएको छ । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान साहीन्सले नेपाललाई जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४३ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रन बनाए । उनले ४४ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाएका हुन् । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ तथा लोकेश बमले १० रन बनाए ।
बलिङतर्फ पाकिस्तान साहीन्सले मोहमद वासिम र फैसल अक्रमले समान दुई÷दुई विकेट लिए भने मोहमद सलमानले एक विकेट झारे ।
त्यसअघि पाकिस्तान साहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४४ रनको योगफल बनाएको थियो । पाकिस्तान साहीन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । त्यसैगरी मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे ।
नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिए । त्यसैगरी कुशल भुर्तेलले एक विकेट झारे । यसअघि पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित हासिल गरेको थियो । नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्ध ३३ रनको जित निकालेको थियो । यस हारसँगै ६ खेलमा चार अंक जोडेको नेपाल प्रतियोगिताबाट बाहरिएको छ ।