२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

ADV
मध्यान्ह
२०८१ साउन ४ गते १७:३२
महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं : एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले ऐतिहासिक जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुल्ला इन्टरनेशनल स्टेडियममा शुक्रबार भएको खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा ऐतिहासिक जित निकालेको हो । यसअघि सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएपनि नेपाल जितविहीन थियो । 

यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ७२ रनको योगदान दिइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् । करिअरकै पहिला अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । 

यस्तै पूजा महतो ७ रनमा नटआउट रहिन् । अर्की ओपनर सीता रानामगर ७ रनमा आउट हुँदा कविता कुँवरले २ रन मात्र जोड्न सकिन् । कप्तान इन्दु बर्मा ६ रनमा आउट हुँदा रुबिना क्षेत्री १० रनमा बोल्ड भइन् । बलिङमा यूएईकी कविशाले ३ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । यूएईका लागि खुशी शर्माले ३६ रन जोडिन् । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरिन् । कविशा एगोदागेले २२ रनको योगदान दिइन् । ओपनर इशा ओजा १० रन जोड्दै दोस्रो ओभरमा रनआउट भइन् । तिर्था सतिशलाई ९ र रिनिथा रजिथ ६ रनमा आउट भए । 

नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले एक-एक विकेट लिए । रुबिना क्षेत्रीले ४ ओभरमा १८ रन र सिता रानामगरले ३ ओभरमा १२ रन मात्र खर्चिए । नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ । त्यसपछि मंगलबार समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise