२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

मलेसियामा हुन्डी कारोबारको आशंकामा ८ बंगलादेशी पक्राउ

Nada
तिलोचन गौतम
२०८३ कार्तिक १२ गते १३:१०
Shares
मलेसियामा हुन्डी कारोबारको आशंकामा ८ बंगलादेशी पक्राउ

क्वालालम्पुर : मलेसियाको राजधानी क्वालालम्पुरस्थित चाउ किट क्षेत्रमा अवैध रूपमा रकम ओसारपसार गर्ने कथित ‘हुन्डी’ सञ्जालको आशंकामा अध्यागमन विभागले आठ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

मलेसियाली समाचार संस्था बर्नामाका अनुसार खुद्रा तथा थोक व्यापार सञ्चालन भइरहेको आवरणमा हुन्डी कारोबार गर्दै आएको आशंकामा अध्यागमन विभागले अक्टोबर २८ मा चाउ किटका तीनवटा व्यावसायिक परिसरमा छापा मारेको थियो ।

मलेसियाली अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया साबानले दिउँसो २ बजेर ३७ मिनेटमा सुरु भएको विशेष कारबाहीका क्रममा २४ देखि ४२ वर्ष उमेर समूहका आठ जना बंगलादेशी पुरुष पक्राउ परेको जानकारी दिएका छन् । उनका अनुसार कारबाहीअघि करिब एक महिनासम्म सूचनाको आधारमा अनुसन्धान गरिएको थियो ।

अध्यागमन विभागका अनुसार उक्त सञ्जालले क्लाङ भ्याली क्षेत्रमा बसोबास गर्ने बंगलादेशी नागरिकलाई लक्षित गर्दै रकम स्थानान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

डिजिटल माध्यम प्रयोग गर्न सक्ने ग्राहकका लागि विदेशी एजेन्टको नाममा दर्ता गरिएका ई–वालेट तथा स्थानीय बैंक खातामार्फत आर्थिक कारोबार गर्ने गरिएको आशंका छ । डिजिटल खाता प्रयोग गर्न नसक्ने ग्राहकबाट भने नगदमा रकम लिने र पठाउने गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक साबानका अनुसार सञ्जालका एजेन्टहरूले बंगलादेशको बैंकिङ समयअनुसार आइतबारदेखि बिहीबारसम्म, स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म कारोबार सञ्चालन गर्ने गरेको पाइएको छ ।

सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म ई–वालेट खातामार्फत भएको कारोबारको अभिलेखमा १ लाख ८० हजार मलेसियन रिंगेटभन्दा बढी रकम देखिएको पनि अध्यागमन विभागले जनाएको छ ।

छापाका क्रममा प्रहरीले तथा अध्यागमन अधिकारीहरूले कारोबारबाट प्राप्त भएको आशंका गरिएको २४ हजार ७२० रिंगेट नगद बरामद गरेका छन् ।

त्यसैगरी पाँचवटा बंगलादेशी राहदानी, पाँचवटा मोबाइल फोन, एउटा ल्यापटप, सीसीटीभी उपकरण, क्युआर कोड तथा विभिन्न व्यावसायिक कागजात पनि बरामद गरिएको छ ।

बरामद कागजातमा मलेसियाको कम्पनी आयोग (एसएसएम) सम्बन्धी कागजातका प्रतिलिपि, क्वालालम्पुर नगरपालिकाको (डीबीकेएल) व्यावसायिक अनुमतिपत्र, पसलका छाप तथा परिसरका साँचासमेत रहेको अध्यागमन विभागले जनाएको छ ।

दुई जना ओभरस्टे, अन्य ६ जनामाथि पनि अनुसन्धान

प्रारम्भिक जाँचका क्रममा पक्राउ परेका आठ जनामध्ये दुई जना मलेसियामा अनुमति प्राप्त बसाइ अवधि सकिएपछि पनि बसेको अर्थात् ओभरस्टे गरेको पाइएको छ । बाँकी ६ जनाले आफ्नो अध्यागमन पासको दुरुपयोग गरेको आशंका गरिएको छ ।

आठै जनालाई मलेसियाको अध्यागमन ऐन १९५९/६३ को दफा १५(१)(ग) तथा अध्यागमन नियमावली १९६३ को नियम ३९(ख) अन्तर्गत सम्भावित कसुरको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ ।

यसैगरी अन्य दुई जना बंगलादेशी पुरुष, एक जना मलेसियाली पुरुष र एक जना मलेसियाली महिलालाई पनि अनुसन्धानमा सहयोग गर्न अध्यागमन कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।

अध्यागमन विभागको पुत्राजायास्थित मुख्यालयको गुप्तचर तथा विशेष कारबाही शाखाले राष्ट्रिय वित्तीय अपराधविरुद्धको केन्द्र (एनएफसिसी)सँगको सहकार्यमा उक्त अभियान सञ्चालन गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर