
काठमाडौँ : ममता काफ्ले बेपत्ता प्रकरणमा उनका पति नरेश भट्टको गुगल सर्च हिस्ट्री र दम्पतीबीचका टेक्स्ट म्यासेज अमेरिकी अदालतमा महत्त्वपूर्ण प्रमाण बनेका छन् । अभियोजन पक्षले तिनलाई सम्भावित मनसायसँग जोडेको छ भने प्रतिरक्षा पक्षले डिजिटल विवरणको समय, स्रोत र व्याख्यामाथि प्रश्न उठाएको छ ।
नेपाली मूलकी ममता काफ्ले बेपत्ता भएको दुई वर्षभन्दा बढी समयपछि उनका श्रीमान् नरेश भट्टविरुद्धको हत्या मुद्दा अमेरिकी अदालतमा पुगेको छ । ममताको शव अझै फेला परेको छैन । त्यसैले अभियोजन पक्षले डिजिटल अभिलेख, भौतिक प्रमाण र साक्षीका बयानका आधारमा घटनाक्रम जोड्ने प्रयास गरिरहेको छ ।
प्रिन्स विलियम काउन्टी प्रहरी विभागकी अधिकारी क्याथरिन जाइमिसले अदालतमा नरेशको डिजिटल गतिविधिबारे बयान दिएकी छन् । उनले गुगल सर्च हिस्ट्री र दम्पतीबीचका सन्देश आदानप्रदानसम्बन्धी विवरण प्रस्तुत गरेकी थिइन् । अभियोजन पक्षले यी विवरणलाई ममता बेपत्ता हुनुअघिको वैवाहिक तनाव र नरेशको सम्भावित मनसाय बुझ्ने आधार मानेको छ ।
अमेरिकी सञ्चारमाध्यम फक्स फाइभ डीसीका अनुसार, नरेशको खातासँग सम्बन्धित गुगल सर्च हिस्ट्रीमा ‘श्रीमती बेपत्ता भएमा के हुन्छ’, ‘श्रीमती हराएपछि सम्बन्धविच्छेद गर्न मिल्छ कि मिल्दैन’ र जीवनसाथीको मृत्युपछि पुनः विवाह गर्न कति समय लाग्छ भन्नेजस्ता खोजी भेटिएका थिए ।
डिजिटल फरेन्सिक अनुसन्धानमा सन् २०२४ को मार्चमा गरिएका केही खोजी पनि सार्वजनिक भएका थिए । अभियोजन पक्षले यस्ता खोजीलाई ममता बेपत्ता हुनुअघिको सम्भावित मनसायसँग जोडेको छ ।
फक्स फाइभका अनुसार, प्रतिरक्षा पक्षले केही खोजीको समय स्पष्ट नभएको विषय उठाएको छ । समय नखुलेका खोजीबाट घटनाक्रमको ठ्याक्कै क्रम र त्यसपछाडिको उद्देश्य निश्चित गर्न नसकिने उसको जिकिर छ ।
नरेशको डिजिटल इतिहासमा ‘ह्युमन ब्रेन डायग्राम’ अर्थात् मानव मस्तिष्कको चित्र खोजिएको अभिलेख पनि भेटिएको थियो । अधिकारी जाइमिसले अदालतमा उक्त खोजीबाट मस्तिष्कका विभिन्न भाग देखाइएको चित्र प्राप्त भएको बताएकी थिइन् ।
यो विवरण ममता अन्तिमपटक सन् २०२४ जुलाई २९ मा आमासँग भिडियो कलमा कुरा गरेपछि सम्पर्कविहीन भएको घटनाक्रमसँग जोडेर प्रस्तुत गरिएको छ ।
त्यस्तै, नरेशको डिजिटल इतिहासमा धारिला औजार, काठ काट्ने हाते आरा र चक्कु तिखार्ने उपकरणसम्बन्धी खोजी भेटिएको फक्स फाइभले जनाएको छ । दम्पतीकी सानी छोरीलाई साथीलाई दिन मिल्छ कि मिल्दैन भन्ने आशयको खोजी पनि सार्वजनिक भएको छ । अभियोजन पक्षले यी विवरणलाई अन्य प्रमाणसँग जोडेर व्याख्या गरिरहेको छ । तर, कुनै विषय खोजिएको तथ्य आफैंमा अपराधको प्रमाण होइन । त्यसको समय, सन्दर्भ र अन्य प्रमाणसँगको सम्बन्ध स्थापित गर्न आवश्यक हुने प्रतिरक्षाको दाबी छ ।
टेक्स्ट म्यासेजमा वैवाहिक तनाव
अदालतमा नरेश र ममताबीच आदानप्रदान भएका टेक्स्ट म्यासेज पनि प्रस्तुत गरिएका छन् । ती सन्देशमा पैसा, पारिवारिक जिम्मेवारी र छोरीको हेरचाहलाई लिएर विवाद भएको देखिने अभियोजन पक्षको दाबी छ ।
अमेरिकी सञ्चारमाध्यम कोर्टहाउस न्युज सर्भिसका अनुसार, एउटा सन्देशमा आत्महत्याको प्रसङ्ग उल्लेख थियो । त्यसको जवाफमा ममताले नरेशलाई जिम्मेवार ठह¥याएको आशयको सन्देश पठाएको विवरण अदालतमा प्रस्तुत गरिएको थियो ।
ममताका साथीहरूले उनी छुट्टै बस्ने ठाउँ खोजिरहेको, आफ्नै बैंक खाता खोल्न र छुट्टै फोन लिन सहयोग खोजिरहेको बताएका छन् । उनी सम्बन्धबाट अलग हुने सम्भावनाबारे पनि साथीहरूसँग कुरा गर्थिन् भन्ने बयान अदालतमा आएको थियो । अभियोजन पक्षले यी विवरणलाई दम्पतीबीचको तनाव र सम्बन्धमा आएको दरारको प्रमाणका रूपमा प्रस्तुत गरेको छ ।
बेपत्ता भएपछि के भयो ?
ममता जुलाई २९, २०२४ मा आमासँग भिडियो कलमा कुरा गरेपछि सम्पर्कविहीन भएकी थिइन् । उनी भर्जिनियाको मनाससस्थित अस्पतालमा नर्सका रूपमा कार्यरत थिइन् । जुलाई २७ मा काममा देखिएकी उनी त्यसपछि नियमित सम्पर्कमा नरहेको विवरण सार्वजनिक भएको थियो ।
ममताका साथी र सहकर्मीले उनको अवस्थाबारे चासो देखाएपछि अगस्ट २ मा प्रहरी नरेशको घर पुगेको थियो । त्यसक्रममा नरेशले ममता टेक्सास वा न्युयोर्कतिर परिवारसँग गएको हुन सक्ने र फोन बिगारेको हुन सक्ने आशयको कुरा प्रहरीलाई बताएका थिए भन्ने विवरण अदालतमा प्रस्तुत भएको छ ।
अभियोजन पक्षले ममता बेपत्ता भएपछि नरेशले गरेका गतिविधिलाई पनि शंकास्पद मानेको छ । निगरानी क्यामेराको फुटेजमा उनले विभिन्न स्थानमा फोहोरका झोला राखेको देखिएको विवरण अदालतमा प्रस्तुत गरिएको थियो । पूर्व एफबीआई एजेन्ट क्यासान्ड्रा बुलजोमीले फुटेजको गुणस्तर सुधार गरी प्रस्तुत गरेको बताइएको छ ।
त्यस्तै, घरमा शंकास्पद दाग भेटिएको, सरसफाइका सामान खरिद गरिएको र करौँतीमा ममताको डीएनएसँग मेल खाने नमुना भेटिएको विवरण पनि मुद्दामा प्रस्तुत गरिएको छ । अभियोजन पक्षले यी प्रमाणलाई घटनाक्रमको समग्र चित्रसँग जोडेको छ ।
प्रतिरक्षा पक्षको जिकिर
नरेशले आफूविरुद्धका आरोप अस्वीकार गरेका छन् । प्रतिरक्षा पक्षले परिस्थितिजन्य प्रमाणका आधारमा मात्र हत्या भएको र त्यसमा नरेशकै संलग्नता रहेको निष्कर्षमा पुग्न पर्याप्त आधार नपुग्ने तर्क गर्दै आएको छ ।
डिजिटल प्रमाणका सन्दर्भमा खोजीको समय, प्रयोग गरिएको उपकरण, खोजी कसले गरेको हो र त्यसको उद्देश्य के थियो भन्ने प्रश्न उठेका छन् । कुनै खातामा खोजी अभिलेख भेटिनु र खाताधनीले नै निश्चित उद्देश्यका साथ त्यो खोजी गरेको प्रमाणित हुनु एउटै कुरा होइन । त्यस्तै, टेक्स्ट म्यासेजमा विवाद देखिनु र त्यसलाई अपराधको प्रत्यक्ष प्रमाण मान्नुबीच पनि अन्तर छ । अभियोजन पक्षले डिजिटल अभिलेखलाई भौतिक प्रमाण र साक्षीका बयानसँग जोडेर आफ्नो दाबी पुष्टि गर्नुपर्ने हुन्छ ।
ममताको शव फेला नपरेको विषयले मुद्दालाई थप जटिल बनाएको छ । अभियोजन पक्षले उपलब्ध प्रमाणका आधारमा उनको मृत्यु भएको र त्यसमा नरेशको संलग्नता रहेको कुरा स्थापित गर्नुपर्नेछ । त्यसको न्यायिक मूल्याङ्कन अदालतले गर्नेछ ।
दुई वर्षदेखि अनुत्तरित प्रश्न
नेपालमा जन्मिएकी ममता काफ्ले नर्सिङ अध्ययनपछि अमेरिकामा बस्दै आएकी थिइन् । नरेश भट्टसँग विवाह गरेकी उनका एक छोरी छन् । ममता सम्पर्कविहीन भएपछि सुरु भएको अनुसन्धानले पछि हत्या मुद्दाको रूप लिएको हो ।
सन् २०२४ अगस्ट २२ मा नरेशलाई शव लुकाएको आरोपमा पक्राउ गरिएको थियो । सोही वर्षको डिसेम्बरमा उनीविरुद्ध प्रथम श्रेणीको हत्या र शवसँग सम्बन्धित अन्य अभियोग लगाइएको थियो ।
ममताको शव अझै फेला परेको छैन । अनुसन्धानकर्ताले डिजिटल अभिलेख, डीएनए परीक्षण, निगरानी क्यामेराका दृश्य र साक्षीका बयानलाई आधार बनाएका छन् । प्रतिरक्षा पक्षले भने प्रमाणको व्याख्या र अभियोजनको निष्कर्षमाथि प्रश्न उठाएको छ ।
ममता प्रकरणमा टेक्स्ट म्यासेज र गुगल सर्च हिस्ट्रीले अनुसन्धानलाई महत्त्वपूर्ण दिशा दिएका छन् । तर, तिनको अर्थ अन्य प्रमाणसँगको सम्बन्धबाट मात्र स्थापित हुन सक्छ । ममतामाथि के भयो र त्यसमा कसको संलग्नता थियो भन्ने प्रश्नको अन्तिम जवाफ अदालतबाट आउन बाँकी छ । नरेशविरुद्धका आरोप प्रमाणित नभएसम्म उनलाई दोषी ठहर गर्न मिल्दैन ।