२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

ढाका बीटीटीएफ-२०२५ : नेपालद्वारा पर्यटकीय गन्तव्यबारे विशेष प्रस्तुति

shivam cement
२०८२ कार्तिक १६ गते ११:४१
ढाका बीटीटीएफ-२०२५ : नेपालद्वारा पर्यटकीय गन्तव्यबारे विशेष प्रस्तुति

काठमाडौँ : नेपालले बङ्गलादेशको ढाकामा हालै सम्पन्न तीनदिने तेह्रौँ बङ्गलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा पर्यटकीय गन्तव्यबारे विस्तृत विशेष प्रस्तुती गरेको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्तव्यबारे विस्तृत प्रस्तुति दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारी गराए।

त्यसैगरी, बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबीचका ऐतिहासिक, सांस्कृतिक र जनजनबीचका सम्बन्ध भएको उल्लेख गर्दै पर्यटन आदानप्रदानलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरे।

कार्यवाहक निर्देशक शर्माले दिएका जानकारी अनुसार सो अवसरमा टुअर अपरेटर एसोसिएसन अफ बङ्गलादेश (टिओएबी) का अध्यक्ष एमडी रफेउज्जामान र निर्देशक एमडी तस्लिम अमिन (शोभन)ले नेपालबारे चर्चा गर्दै प्राकृतिक र साहसिक गन्तव्य भएको बताए।

कार्यक्रममा ढाकामा रहेका नेपाली विद्यार्थीले लोकसांस्कृतिक प्रस्तुति गरेका थिए । यसले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

सोही अवसरमा दुईदेशका पर्यटन व्यवसायीबीच ‘बीटुबी’ अन्तक्र्रिया तथा ‘नेटवर्किङ’सत्र पनि भएको थियो । साथै, कार्यक्रमकै क्रममा ‘राफल ड्र’ आयोजना गरी विशेष ‘होलिडे प्याकेज’हरू पनि घोषणा गरिएको थियो । यस कार्यक्रममा एक सयभन्दा बढी बङ्गलादेशी टुर अपरेटरहरूसहित दुवै देशका पर्यटन व्यवसायी र सरोकारवाला सहभागी रहेका कार्यवाहक निर्देशक शर्माले बताए ।

बङ्गलादेशको सबैभन्दा ठूलो पर्यटन प्लेटफर्म ‘बीटीटीएफ’ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ढाकामा सम्पन्न भएको हो । यसमा नेपाल पर्यटन बोर्ड, नाटा सहित नेपालका १० पर्यटन व्यावसायिक कम्पनीले सहभागिता जनाएका थिए । बोर्डको नेतृत्वमा सहभागी टोलीमा १६ जना टुर अपरेटर, ट्राभल एजेन्सी तथा होटल प्रतिनिधि समावेश थिए । टोलीले साहसिक पर्यटन, प्रकृति, संस्कृति र विशेष विषयका पर्यटन उत्पादन प्रस्तुत गर्दै नेपाललाई बङ्गलादेशी पर्यटकका लागि छोटो दूरीमै पाउने अद्वितीय तथा अर्थपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।

यस अन्तरराष्ट्रिय मञ्चले नेपाल पर्यटन बोर्ड र नेपाली पर्यटन व्यवसायीहरूलाई क्षेत्रीय सहकार्य मजबुत पार्न, अन्तरराष्ट्रिय सम्बन्ध सुदृढ बनाउने र नेपाललाई ‘जीवनभरको अनुभवको गन्तव्य’का रूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर