२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

shivam cement
२०८२ कार्तिक १६ गते ११:५९
नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

सुनसरी : इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका-६ मा ‘पशुपति नर्सरी’ स्थापना गरे । सुरुआतमा करिब रु. दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु. एक करोडभन्दा बढी लगानीमा रूपान्तरण भएको छ । यही नर्सरीबाट वार्षिक रु. ३५ लाखदेखि रु. ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउँछन् ।

अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गरेका थिए । हजुरबुबाबाट प्रेरित भएर उनका बुबाले सुपारीको बिरुवा उत्पादन सुरु गरे। अधिकारीले भने, “बुबा सुपारीका बिरुवादेखि विभिन्न प्रजातिका फूल र फलफूलका बिरुवा उत्पादन गरेर बिक्रीका लागि वीरगञ्ज, बुटवल, नारायणगढसम्म पुग्नुहुन्थ्यो ।”

सानो उमेरमा बुबासँगै बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र फूल रोप्ने काम अधिकारीका लागि खेलभन्दा पनि बढी खुसीको विषय थियो । उनी  सम्झन्छन्, “बुबा बिरुवा रोप्नुहुन्थ्यो, म त्यसमा पानी हाल्थेँ । त्यसैमा सन्तोष मिल्थ्यो, त्यही कामप्रति मोह र लगाव बढ्दै जाँदा पछि यहीँ पेसा रोजे । फूल र बिरुवासँगको सम्बन्ध मेरो आत्मासँग गाँसिएको छ ।”

केही समयअघि मात्र क्यानाडा पुगेका अधिकारीलाई त्यहाँको आधुनिक जीवनशैलीले लोभ्याए पनि मन भने सधैँ नेपालमै थियो । उनलाई अरूको देशमा गएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय गर्नु गर्वको कुरा लाग्यो । दुई वर्ष नबित्दै स्वदेश फर्किएर अधिकारी अहिले इटहरीमा तीन नर्सरी शाखा स्थापना गरी सञ्चालन गरिरहेका छन् ।

हाल अधिकारीको नर्सरीमा सात युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । “देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चिकै सन्तोषको कुरा रहेछ”, अधिकारी भने

पशुपति नर्सरीमा अहिले २५ सयभन्दा बढी प्रजातिका बिरुवा छन् । मनिप्लान्ट, टर्मिनेलिया, चाइनादल, भियतनामी नरिवल, थाइकिङ जामुन, अम्बक, सुपारीलगायत विदेशी बिरुवादेखि सिजनल फूल र फलफूलका विभिन्न प्रजातिका बिरुवा यहाँ पाइन्छन् । केही बिरुवा कोलकाता, मुम्बई, काठमाडौँ र चीनबाट आयात हुने र केही यही आफैँले उत्पादन गर्ने गरेको अधिकारीले बताए ।

“नरिवल र सुपारीका बिरुवाको माग अत्यधिक छ”, उनले भने । अधिकारीले सञ्चालन गर्नुभएको नर्सरी अहिले इटहरीकै आकर्षण बनेको छ । यहाँ आउने जोकोही बिरुवाको विविधता र सुन्दरता देखेर मोहित हुन्छन् । धेरै व्यक्ति किनमेलसँगै घुम्न, फोटो खिच्न र फूलबारीमा रमाउनका लागि आउने गरेका उनको भनाइ छ ।

अधिकारीका अनुसार अहिले धेरै जसो टिकटक, युट्युब, गुगललगायत अनलाइन माध्यममार्फत माग आउने गरेको छ । “हामीले देशभर ‘डेलिभरी’ गर्ने गरेका छौँ । देशमा सम्भावना छैन भनेर विदेशिने युवाका लागि धेरै सम्भावना नेपालमै छ । लगन, मेहेनत र विश्वास भए पर्याप्त आम्दानी गर्न सकिन्छ । फूल र बिरुवाले मलाई आर्थिक मात्र होइन, आत्मिक सन्तुष्टि पनि दिएको छ”, उनले भने ।

पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै परदेशको मोह त्यागी आफ्नै माटोमा आत्मनिर्भर बनेका अधिकारीजस्ता युवा उद्यमीले देशभित्रै रोजगारी र समृद्धिको बाटो सम्भव छ भन्ने प्रमाणित गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर