२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन

shivam cement
२०८२ कार्तिक १६ गते १२:०१
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रेपलाञ्चोक : बाढी पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडक खण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो ।

अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चार सय बेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले बताए । यस्तै, रोशी–१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए। “सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ”, उनले भने ।

यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडक खण्डमा ढुंगा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको इञ्जिनियर योगेशले जानकारी दिए । उनका अनुसार बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, बिरुवा डाँडा डालाबेँसी, नार्के, चारसय बेँसी, घुमाउनेलगायत स्थानमा ढुंगा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए । यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटक पटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो ।

गत वर्षको असोजको बाढी पहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । “सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो”, उनले भने ।

बाढी पहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपाल थोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो ।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर