२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

shivam cement
२०८२ कार्तिक १७ गते १२:१३
Shares
ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

काठमाडौंः काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ ।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नम्बर ८ का वडाअध्यक्ष आशामान सङ्गत, महानगरपालिकाका नगरउपप्रमुख सुनिता डङ्गोलले आज विधिपूर्वक पूजा गरी उक्त मूर्ति पुनःस्थापना गरेकी हुन् ।

छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा आजदेखि ब्रह्मा मन्दिरमा पुनःस्थापना गरिएको वडाध्यक्ष सङ्गतले जानकारी दिए । उनले भने, ‘संरक्षणको अभावमा मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो । आज हामीले मूर्तिलाई मन्दिरमा पुनःस्थापना गरेका छौँ ।’ 

काठमाडौं महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र गायत्री मार्गमा रहेको दुईतले मन्दिरमा बाजागाजा र बग्गीसहितको र्‍यालीले आज मूर्तिलाई मन्दिरमा पुनःस्थापना गरेको छ ।

छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको उक्त चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएपछि भग्नावशेष मात्र रहेकाले मूर्ति पनि चोरी भएको र पछि उक्त मूर्ति धोबीखोलामा भेट्टाइएको थियो । 

उक्त मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको वडाध्यक्ष सङ्गतले बताए । विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण बनाएको उक्त मन्दिरलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुनःनिर्माणका लागि शिलान्यास गरेका थिए । ब्रह्मा मन्दिर इँट्टा माटो र काठबाट निर्मित मन्दिर दुईतलाको प्यागोडा शैलीमा निर्माण गरिएको छ । 

ADV

सम्बन्धित खबर