२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

कटहरिया नगरपालिकामा प्रशासनिक संकट : प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा ठप्प

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ कार्तिक १७ गते १३:१२
Shares
कटहरिया नगरपालिकामा प्रशासनिक संकट : प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा ठप्प

रौतहट : रौतहटको कटहरिया नगरपालिका प्रशासनिक अव्यवस्था र कर्मचारी असन्तुष्टिका कारण संकटमा छ । प्रमुख प्रशासकीय अधिकृत उपसचिव गणेश नेपालीलाई मन्त्रालयले फिर्ता बोलाएको छ ।

करीब तीन महिनाअघि कटहरियामा खटिएका नेपालीले तलब र सेवा–सुविधासम्बन्धी समस्या समाधान गर्न नसक्दा मन्त्रालय फर्किएका हुन् । कर्मचारीहरूले भने लामो समयदेखि तलब नपाएको विरोधमा गत चार दिनदेखि मुख्य कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी र धर्ना जारी राखिरहेका छन् ।

कर्मचारीहरूका अनुसार पालिकामा प्रशासनिक अस्थिरता, आर्थिक पारदर्शिताको अभाव र आन्तरिक असमझदारीले असन्तुष्टि चरममा पुगेको छ । मन्त्रालयले समस्याको समाधानका लागि पठाएको अधिकृतले जिम्मेवारी पूरा नगरेपछि स्थिति झन् जटिल बनेको उनीहरूको भनाइ छ ।

एक कर्मचारीले भने, “हामीले सोचेका थियौं, नयाँ हाकिम आएपछि केही सुधार होला, तर जुन जोगी आएपनि कानै चिरेको उखान यहाँ ठ्याक्कै मिल्यो ।”

नगर प्रमुख अजय प्रकाश जैसवालले भने कर्मचारीहरूको तलबका लागि ५ करोड रुपैयाँ बजेटमै व्यवस्था गरिएको बताए । उनले भने, “दिपावली र छठजस्ता पर्वमा कर्मचारीका परिवारले दुःख भोग्नुपरेको देख्दा मलाई पनि पीडा लागेको छ ।”

जैसवालका अनुसार, उपसचिव नेपालीले बारम्बार आदेश दिए पनि तलब वितरणमा ढिलासुस्ती गर्दै अन्ततः मन्त्रालय फिर्ता भएका हुन् । मेयरले उनलाई ‘बिना जानकारी कार्यालय छाडेको’ आरोप समेत लगाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको सरुवापछि पालिकाको सम्पूर्ण प्रशासनिक काम ठप्प भएको छ । सेवाग्राहीहरू आवश्यक कागजात, प्रमाणपत्र र सिफारिसका लागि आउँदा निराश हुँदै फर्कनुपर्ने अवस्था छ ।

स्थानीयहरूले पालिकाको निरन्तर विवाद र अस्थिरताले जनसेवा ठप्प पारिरहेको भन्दै संघीय सरकारको तत्काल ध्यानाकर्षण गराएका छन् । आन्दोलनरत कर्मचारीहरूले समस्या तत्काल समाधान नभए विकासका सबै कार्यक्रम र जनसेवा रोकिने चेतावनी दिएका छन् ।

सम्बन्धित खबर