२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

कास्कीमा भैपरी खर्च लिने जेनजी आन्दोलनका घाइतेको संख्या न्यून

shivam cement
२०८२ कार्तिक १७ गते १४:१०
10 Shares
कास्कीमा भैपरी खर्च लिने जेनजी आन्दोलनका घाइतेको संख्या न्यून

गण्डकी : गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका कास्कीका ९२ जनामध्ये हालसम्म जम्मा आठ जनाले मात्र घाइते परिचयपत्र र भैपरी खर्च बुझेका छन् ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले गत असोज २४ गते आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च लिन आउन सार्वजनिक रुपमा सूचित गरेको थियो । 

गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्कीमा स्थायी ठेगाना भएका घाइतेहरूलाई परिचयपत्र र भैपरी खर्च वितरण भइरहेको कार्यालयका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।

“आइतबारसम्म आठ जनालाई घाइते परिचयपत्र रु २० हजारका दरले भैपरी खर्च प्रदान गरिएको छ”, उनले भने, “अन्य घाइतेहरू पनि सम्पर्कमा हुनुहुन्छ, आफ्नो आवश्यकता र अनुकूलता अनुसार उहाँहरू आउनुहोला ।”

यस बीचमा दसैं, तिहारलगायत चाडबाडको लामो बिदा परेकाले पनि कार्यालयबाट सेवा लिन आउनेको संख्या कम भएको प्रशासकीय अधिकृत रेग्मीले बताए । परिचयपत्र वितरणपछि सोही आधारमा घाइतेलाई तत्कालका लागि भैपरी खर्चबापत रु २० हजार दरले रकम उपलब्ध गराइएको उनको भनाइ छ । 

भैपरी खर्चका लागि ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट र डिस्चार्जसम्बन्धी कागजात, नागरिकताको प्रमाणपत्र, तस्बिर र घाइतेका नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपिसहित कार्यालयमा उपस्थित हुनपर्ने उनले बताए । कार्यालयले घाइते स्वयं आउन नसके परिवारका सदस्यलाई सम्पर्क राख्न सूचित गरेको छ ।

ADV

सम्बन्धित खबर