२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मध्यपूर्व युद्ध असर : चुनावको मुखमा पेट्रोल र ग्यासको अभाव, आत्तिए उपभोक्ता

shivam cement
छबि सापकोटा
२०८२ फागुन २० गते ०६:३५
Shares
मध्यपूर्व युद्ध असर : चुनावको मुखमा पेट्रोल र ग्यासको अभाव, आत्तिए उपभोक्ता

काठमाडौं : देशभर चुनावी माहोल भइरहेका बेला मध्यपूर्व युद्धको असर नेपाली भान्सासम्म पर्न थालेको छ । इन्धन आपूर्ति प्रभावित हुने र मूल्यबृद्धि हुने भयले उपभोक्ताहरु पेट्रोल पम्पमा लाइन लाग्न थालेका छन् । आम उपभोक्ताले पेट्रोलियम पदार्थदेखि ग्याससम्म थुपार्न थालेपछि माग बढ्नुका साथै बजारमा अभाव देखिन थालेको छ । 

मध्यपूर्वको युद्धसंगै निर्वाचनका क्रममा आवागमन बढ्नुका साथै ¥यालीलगायतका गतिविधिले इन्धनको खपत बढेको देखिन्छ । युद्धबाट खाडी क्षेत्र प्रभावित रहेकाले लगत्तै आपूर्तिमा समस्या आउने ठानेर आइतबारदेखि नै उपभोक्ताहरु पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन् । त्यसो त, उपभोक्ताले सहज रुपमा ग्यास पाउन छाडेकै एक महिना भइसकेको छ । 

ग्यासको मूल्य बढ्ने र अभाव गहिरिने डरले उपभोक्ताहरु नयाँ सिलिण्डरसमेत किनेर ग्यास थुपार्न थालेका छन् । बुधबारदेखि शनिबारसम्म बिदा भएकोले समेत उपभोक्ताले बिदामा इन्धन नपाइने हो कि भन्ने त्रासले इन्धनको जोहो गरिरहेका छन् । 

आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नियमितभन्दा दोब्बर आपूर्ति भइरहेको जनाएको छ । पेट्रोलियम पदार्थको बिक्रीसमेत दोब्बरले खपत भइरहेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले आइतबार १६ लाख ५० हजार लिटर, सोमबार १३ लाख ९ हजार लिटर र मंगलबारसमेत १६ लाख ५० हजार लिटर पेट्रोल काठमाडौ उपत्यकाका लागि पठाएको जानकारी दिए । यस्तै बिदाको दिनसमेत आपूर्ति व्यवस्था मिलाइएकोभन्दै उपभोत्ता आत्तिनु पर्ने अवस्था नरहेको निगमको दाबी छ । 

मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव देखिएको छ । खाडी मुलुकमा इन्धन प्रशोधन केन्द्रमा इरानको आक्रमणले समेत विश्वभर इन्धनको आपूर्तिमै समस्या आउने आंकलन गरिएको छ । युद्धका कारण खाडी क्षेत्रमा प्रभाव पर्ने र ग्यासको आपूर्ति कटौती हुने त्रास नेपालमा समेत उस्तै छ ।

नेपालमा पनि मूल्य बढ्ने र अभाव हुने डरले सर्वसाधारणले इन्धन थुपार्न थालेका छन् । तर, निगमले भारतबाट इन्धनको आयात नियमित भइरहेको र तत्काल अभाव नहुने जनाएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेल पनि मध्यपूर्वको द्वन्द्वका कारण इन्धनको मूल्यवृद्धि हुन सक्ने र त्यसले उत्पादन लागत बढाउन सक्ने स्वीकार्छन् । 

पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले मध्यपूर्वमा सुरु भएको युद्धका कारण सर्वसाधारणमा इन्धन अभावको मनोवैज्ञानिक त्रास देखिँदा सामान्य समयभन्दा खपत बढेको बताँउछन् । जाडो याम सकिँदै जाँदा ग्यासको खपत घट्ने भएकाले अब ग्यासको अभाव भने समाधान हुने उनको दाबी छ ।

सम्बन्धित खबर