काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले स्वच्छ एवं न्यायोचित भर्ना सम्बन्धी अमेरिकी संस्था ईशाराका प्रतिनिधिहरूसँग छलफल गरेको छ । उक्त संस्थाको थाइल्याण्डस्थित क्षेत्रीय कार्यालयका निर्देशक ओहनमार इई चाओको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र एसोसिएसन प्रतिनिधिमण्डलबीच शनिबार एसोसिएसनको कार्यालय नयाँ बानेश्वरमा छलफल भएको हो ।
एसोसिएसनका तर्फबाट अध्यक्ष कुमुद खनालको नेतृत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्य, सल्लाहकार तथा अन्य व्यवसायीको उपस्थिति रहेको थियोे । अध्यक्ष खनालले उक्त संस्थासँगको सहकार्यमा सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरुलाई स्वच्छ एवं न्यायोचित भर्ना सम्बन्धी तालिम निःशुल्क दिलाउने निर्णय समेत गरेको बताए ।
श्रम तथा आप्रवासनमा रहने कामदारको भर्ना प्रक्रिया स्वच्छ एवं न्यायोचित हुनुपर्ने विश्वव्यापी मान्यता रहेको छ । अमेरिकी तथा युरोपेली मुलुकहरूले स्वच्छ एवं न्यायोचित भर्ना प्रक्रियाको अभ्यास र पालना गर्दै आइरहेकोमा पछिल्लो समय ठूलो संख्यामा अदक्ष नेपाली कामदार वैदेशिक रोजगारीका लागि जाने मलेसियाले पनि स्वच्छ एवं न्यायोचित भर्ना प्रक्रियालाई विशेष जोड दिएको छ ।
अध्यक्ष ढकालले निष्पक्ष र नैतिक रोजगारी प्रक्रियाका लागि विभिन्न तहमा रोजगारदाता, रोजगार व्यवसायी र कामदारबीचको तालमेल नै प्रमुख विषय हो भन्ने विषयमा दुबै संस्थाको समान दृष्टिकोण पाइएको बताए ।
कामदार भर्ना प्रक्रियामा व्यावसायिकता, निष्पक्षता, पारदर्शिताको उच्चतम स्तर सुनिश्चित गर्न तर्जुमा गरिएका उत्कृष्ट अभ्यासहरूलाई पालना गर्न नेपाली वैदेशिक रोजगार व्यवसायीहरू तत्पर रहेकोे र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले पनि त्यसका लागि जोड दिएको अवस्थामा ईशारासँगको छलफल फलदायी रहेको खनालको भनाइ छ ।
एथिकल रिक्रुटमेन्ट भन्ने बित्तिकै सम्पूर्णमा शून्य लागत भन्ने बुझाइ पनि गलत हुने भन्दै उनले अनधिकृत बिचौलियाहरूको अन्त्य हुँदा कामदार, रोजगारदाता र सरकारबीच सरल वातावरण सिर्जना शुने भएकोले यस प्रक्रियामा सकेसम्म सबै व्यवसायीलाई समेट्ने बताए ।
केही व्यवसायीहरूले मलेसियास्थित बहुराष्ट्रिय लगानीका कम्पनीमा कामदार पठाउन म्यानपावर कम्पनीले आरबिआई तालिमको अनिवार्यता गरेका छन् ।
अध्यक्ष खनालले ईशाराले सञ्चालन गर्ने तालिम बढी प्रभावकारी रहेको बताए । उक्त कम्पनीले इण्डोनेशिया र क्याम्बोडियाबाट थाइल्याण्ड आएका कामदारका विषयमा अध्ययन गरेकोे र रोजगारीका लागि अब मलेसिया जाने नेपाली कामदारसँग नेपाल र मलेसियामा अध्ययन गर्ने तयारी गरेको बताइएको छ ।
उक्त संस्थाले भर्ना प्रक्रियामा कामदारले झन्झटिला प्रक्रिया, ढिलासुस्ती र अनुचित खर्च लिए नलिएको, ठगीविरूद्ध प्रशासनको कार्यसम्पादन जस्ता विषयमा औपचारिका तथा अनौपचारिक छलफल गरेर प्रतिवेदन समेत तयार गर्ने एसोसिएसनलाई बताएको एसोसिएसन कार्यसमिति सदस्य अमर तिवारीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies