नेपाली गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनाउन सफल लक्ष्मण शेष अहिले पनि कस्तो गीत बनाउँदा स्रोता रुचीको हुन सक्छ भन्ने कुरामा चिन्तित रहन्छन् । नेपाली चलचित्र ‘सिन्दुर पोते’मा संगीत भरेर एकाएक सांगीतिक क्षेत्रमा चर्चामा आएका संगीतकार लक्ष्मण शेषले सय भन्दा बढी चलचित्रमा संगीत भरिसकेका छन् । हेटौंडाका स्थानीय बासिन्दा शेष गीति लेखनमा पनि त्यतिकै सिपालु छन् । हेटौंडामा रहेकोे सुस्केरा क्लबमा ६ वर्ष लगातार संगीतको अभ्यास गरेका संगीतकार शेषका दर्जनौं सफल गीतहरु अहिले पनि स्रोताहरुको माग हुने गरेको छ । उनको संगीत सिर्जना रहेको मिठो बोलीमा, नघुमाऊ नजर, नहेर कर्केर, नबोल है मायाले ओर्केर फर्केर, परदेशी लोभिन्छ नीलो चोलीमा भन्ने गीत एकदमै चर्चित रहे । त्यस्तै चलचित्र ‘आफन्त’मा समावेश सबै गीत चर्चित भएका थिए । जस्तै सुख पनि जिन्दगी, पाउजुको छमछम, मनै रहेछ, आँखैले हेर्यो लौ न आदि पर्दछन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’माथि बनेको चलचित्रमा समेत संगीत भरेका उनले ५० भन्दा बढी टेलिफिल्म तथा ५०० भन्दा धेरै फुटकर गीतमा संगीत भरिसकेका छन् । संगीतकार संघका निवर्तमान अध्यक्षसमेत रहेका सरल स्वभावका संगीतकार लक्ष्मण शेषले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो गीतसंगीतको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
अधिकांश गीत संगीत अश्लिल, फेसनेवल र बढी टेक्निकलमात्र हुने गरेको छ ।
रोयल्टी र प्रतिलिपिको विषयमा चर्को आवाज उठ्ने गरेको पाइन्छ, व्यवहारमा उतार्न नसक्नुको कारण ?
श्रष्टाका नेता भनाउँदाहरु नै रोयल्टी र श्रष्टा अधिकारका नाममा बेइमान, भ्रष्टाचारी र संगीत माफियाका दलाल हुनुको कारण यस्ता विषयहरु भाषणमा मात्र सीमित हुन पुगेको हो ।
इन्टरनेटको माध्यमबाट प्रयोग हुने सांगीतिक रचनाको अधिकारबारे तपाईंको धारणा ?
जुनसुकै माध्यमबाट गीत संगीतको प्रयोग गरिए पनि रोयल्टी र प्रतिलिपि अधिकार जस्ता विषय श्रष्टाका सार्वभौम र मौलिक अधिकार हुन्, उनीहरुको सिर्जना प्रयोग भए बापतको एक एक सुका पनि उनीहरुले जस्ताको त्यस्तै पाउनुपर्छ ।
बौद्धिक सम्पत्तिको अवधारणा र यसको संरक्षणको महत्वबारे श्रष्टाहरु कत्तिको जागरुक छन् ?
बौद्धिक सम्पत्तिमाथिको हक श्रष्टाहरुको मौलिक हक हो र यसलाई वर्तमान संविधानको धारा २५ अन्तर्गत संरक्षण गरिएको छ । अधिकांश श्रष्टाहरुलाई यसबारे थाहै छैन र थाहा पाउनेहरुले पनि शुझ पचाएर यसलाई कानूनी प्रयोग गर्न चाहिरहेका छैनन् ।
सिर्जनाको कपिराइटलाई लिएर विवाद भइरहनुको कारण ?
केही मुठ्ठीभर संगीत माफियाहरुले दशकौंदेखि हजारौं नेपाली गीत संगीत माथि आफ्नो अवैधानिक स्वामित्व दाबी गर्दै फोकटमा करोडौं आर्जन गरिरहेका थिए । पछिल्लो समय केही सचेत श्रष्टाहरुले यस विषयलाई महत्वका साथ अभियानका रुपमा अगाडि बढाएको हुनाले विवाद जस्तो देखिएको हो । यो अझै तीव्र गतिमा उजुरी, मुद्दा र आन्दोलन हुँदै परिणाममुखी कारबाहीमा परिणत हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।
प्रविधिको सुविधाले गर्दा सिर्जनामा आलस्यता आएको हो ?
साधना बिना सिर्जना हुनै सक्दैन, प्रविधिले सिर्जनाहरुलाई प्रस्तुत गर्न सरल बनाउने मात्र हो ।
अडियो क्यासेट वा सिडिबाट हुने आर्थिक लाभको विकल्प केले परिपुर्ति गरिरहेको पाउनु हुन्छ ?
इन्टरनेटका माध्यमबाट सुलभ हुने विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय डिजिटल पोर्टल वा प्लाटफर्महरुबाट ।
गीतसंगीत उत्पादक, वितरक कम्पनीहरुले श्रष्टाको उचित मूल्यांकन गरिरहेको छ जस्तो लाग्छ ?
शोषण, अपमान र अन्याय मात्र ।
नेपाली संगीतलाई विश्वव्यापी बनाउन राज्यबाट कस्तो अपेक्षा गर्नु हुन्छ ?
निर्लज्ज र निर्दयी राज्यबाट केही अपेक्षा छैन ।
चलचित्र र अन्य गीतको संगीत सिर्जनामा के भिन्नता पाउनु हुन्छ ?
आजकल सबै भद्रगोल नै सुनिन्छ । तर पनि कुनै कुनै स्वतन्त्र गीत संगीतहरु स्वाभाविक र मौलिक सुनिन्छन् भने चलचित्रका गीत संगीतहरु प्रायः अलि नाटकीय ।
संगीतकार संघको अध्यक्ष रहिसक्नु भएको छ, तपाईंको कार्यकालमा भएका उल्लेखनीय काम र चाहेर पनि गर्न नसक्नु भएको कामको बारेमा सम्झनु पर्दा ?
समग्र श्रष्टा जगतका हित र समग्र संगीत क्षेत्रका उन्नतिका लागि मेरो कार्यकालमा जन्मिएका सपनाहरु, केही गर्न अघि सारिएका योजनाहरु र तुहिएका अभियानहरुका बारेमा सम्झिएर रुन मन लाग्छ, एक दिन हामी छुट्टै बसौंला ।
पछिल्लो पुस्ताले नेपाली गीतसंगीतलाई नरुचाउनुको कारण ?
सिर्जना, भाव र कला भन्दा कस्मेटिक र यान्त्रिक भएका कारण ।
समग्र गीतसंगीतको उत्थान र विकासका लागि तपाईंको विचारमा के गर्नुपर्ला ?
विगत १० वर्षदेखि यस क्षेत्रको उत्थान र विकासका लागि धेरै खालको प्रयास गरेर हेरियो, केही लागेन । अब सत्य, इमान्दार र असल श्रष्टाहरुले साँच्चिकै एकताबद्ध भएर बलिदान नै दिने गरी एउटा भूमिगत सांगीतिक क्रान्तिको अभियान चलाउनु पर्छ कि जस्तो लागिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies