
काठमाडौँ : फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका अघिल्लो सरकारका सबै मन्त्रीहरू पराजित भएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रतिनिधि सभा विघटन भएको थियो । भदौ २७ मा चुनाव गराउने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भयो । त्यही नागरिक सरकारले निर्धारित समयमा नै प्रतिनिधि सभाको निर्वाचन सफल गराएको छ ।
यो निर्वाचनमा जनताले आफ्नो मत परिवर्तन गरेको प्रष्ट देखिन्छ । निर्वाचन जितेर आउनेहरू अधिकांश नयाँ अनुहार र नयाँ पार्टीका छन् । एकै पार्टी र व्यक्ति, आलोपालो सरकार, बेमेल गठबन्धनले आजित भएका जनताले यसपटक एउटा पार्टीलाई पाँच वर्ष सरकार चलाउन पुग्ने गरी मत दिए ।
जनताको मत बदलिएसँगै निर्वाचनमा होमिएका तत्कालीन मन्त्रिपरीषदका सदस्य अर्थात् मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पराजित भएका छन् । झापामा सबैका प्रिय मानिएका नेता केपी शर्मा ओली यो पटक नराम्रोसँग पराजित भए । उनी काठमाडौँ महानगर छाडेर झापा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसँग फराकिलो अन्तरले हारे । प्रधानमन्त्रीसमेत रहेका उनी यो पटक संसद छिर्न पाउने छैनन् । उता प्रधानमन्त्रीलाई हराएका शाह भने नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का छ ।
केपी ओलीका विश्वासपात्र अर्थात् उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल पनि रुपन्देहीबाट पराजित भएका छन् । उनलाई रास्वपाका उम्मेदवार सुलभ खरेलले पराजित गरेका हुन् । अधिवक्तासमेत रहेका खरेल पहिलोपटक संसद छिर्दैछन् । अघिल्ला निर्वाचनमा लोकप्रिय मतसहित निर्वाचित हुँदै आएका पौडेल यो पटक निकै कम मत ल्याउनेमा पर्छन् । अर्थमन्त्री हुँदा रुपन्देहीमा बजेट थुपारेको आरोप लागे पनि त्यहाँका मतदाताले यस पटक उनलाई मत दिएनन् ।
तत्कालीन सन्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको पनि संसदीय यात्रामा ब्रेक लागेको छ । उनी लमजुङबाट चुनावी प्रतिस्पर्धामा थिए । उनी पनि रास्वपाका उम्मेदवार धर्मराज केसीसँग दोब्बर मतान्तरले पराजित भए । सरकारले सामाजिक सञ्जाल बन्द गराएको भन्दै आन्दोलनमा उत्रिएकाहरू गुरुङसँग रुष्ट थिए । त्यो पनि उनको हारको कारण भएको कतिपयको विश्लेषण छ ।
जसपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी पनि यो पटक पराजित भएका छन् । १९ पटक त मन्त्री नै बनिसकेका उनी यो पटक महोत्तरी– २ बाट रास्वपाका उम्मेदवार दीपक साहसँग पराजित भए । जसपा नेपालबाट निर्वाचनमा भाग लिएका भण्डारी भदौ २३ र २४ गतेको आन्दोलन हुँदा पनि मन्त्री नै थिए ।
बैतडीबाट लगातार तीन पटक चुनाव जितेका एमाले उम्मेदवार दामोदर भण्डारी यस पटक तेस्रो स्थानमा पुगे । उनलाई रास्वपाका उम्मेदवार हरि मोहन भण्डारीले पाराजित गरे । यो पटक संसद्सम्म पुग्न नसकेका भण्डारी तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुन् ।
लोकप्रिय कार्यक्रमसहित जनताको हितमा काम गरिरहेको भनेर प्रचार गरिएका मन्त्री हुन् प्रदीप पौडेल । उनले स्वास्थ्यमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । अघिल्लो निर्वाचनमा काठमाडौँ - ५ बाट निर्वाचित भएर सांसद हुँदै मन्त्री बनेका पौडेल यो पटक रास्वपाका उम्मेदवार सस्मित पोखरेलसँग पराजित भए ।
पर्सा क्षेत्र नम्बर - २ बाट निर्वाचनमा भाग लिएका पूर्वमन्त्री अजयकुमार चौरसीयालाई रास्वपाका उम्मेदवार सुशीलकुमार कानुले पराजित गरे । चौरसीया कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री थिए । यस अघि स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका कानुले मन्त्री भएका चौरसीयालाई संसद छिर्नबाट रोके ।
पूर्व युवा तथा खेलकुद विकासमन्त्री निवर्तमान सांसद तेजुलाल चाैधरी पनि सप्तरी -४ बाट पराजित भए । लगातार तीनवटा निर्वाचन जितेका चौधरीलाई रास्वपाका सीताराम साहले पराजित गरे । पहिलोपटक संसदीय निर्वाचन लडेका साह खडक नगरपालिकाको नगर प्रमुखमा चुनाव लडेका थिए । नगर प्रमुख लड्दा तेस्रो भएका साह अहिले सांसद बने ।
जेनजी आन्दोलनपछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै राजीनामा दिएका खानेपानी मन्त्री प्रदीप यादव पनि यो निर्वाचनमा पराजित भए । पर्सा क्षेत्र नम्बर–१ बाट चुनाव लडेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बुद्धिप्रसाद पन्तसँग पराजित भएका हुन् । जसपाबाट निस्कासित भएपछि एमाले प्रवेश गरेका यादव अन्तत: त्यहाँबाट पनि निर्वाचित हुन सकेनन् ।
झापा क्षेत्र नं. २ मा चुनाव लडेका पूर्वसभामुख देवराज घिमिरे पनि पराजित भएका छन् । उनी रास्वपाकी इन्दिरा राना मगरसँग पराजित भएका हुन् । घिमिरे सभामुख हुँदा राना उपसभामुख थिइन् । अहिले राना विजेता हुँदा घिमिरे उपविजेता बने ।
विघटित प्रतिनिधिसभामा सांसद रहेका रास्वपाका अधिकांश सांसद फागुन २१ को निर्वाचनबाट निर्वाचित भएका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायत मधेशवादीदलहरूको पनि यो पटक संसदमा सन्तोषजनक उपस्थिति छैन । अघिल्लो मन्त्रिपरिषदका सदस्यहरू नै यो निर्वाचनबाट सांसद हुन पनि अयोग्य रहेको जनादेश छ । माओवादी, रास्वपा र श्रम संस्कृतिबाहेक अन्य पार्टीका सभापति अर्थात् अध्यक्ष नै यो निर्वाचनमा पराजित भएका छन् ।