२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

संख्या सय समस्याले आफू नैतिक बन्धकमा रहेको श्रममन्त्री भण्डारीको भनाइ

ADV
२०८१ साउन ९ गते ०६:४०
संख्या सय समस्याले आफू नैतिक बन्धकमा रहेको श्रममन्त्री भण्डारीको भनाइ

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वार्षिक सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्ने विषयमा आफू नैतिक बन्धकमा रहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा विभिन्न राजनीतिक दल निकट घटक संस्थाहरुको संयुक्त शुभकामना तथा बधाई कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री भण्डारी उक्त जानकारी दिएका हुन् ।

गत वर्ष वार्षिक सय जना कामदार पठाउन नसकेका म्यानपावर व्यवसायीको समेत इजाजत नवीकरण गर्न वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अन्तर्गत बाधा अड्काउ फुकाउन मन्त्रिपरिषद्मा लगेको स्मरण गर्दै मन्त्री भण्डारीले भने, ‘अघिल्लो वर्ष म आफैंले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर सय संख्या पुर्‍याउन नपाएका व्यवसायीको इजाजत नवीकरण हुने व्यवस्था गरेको अवस्थामा यस वर्ष हुँदैन भन्न सक्ने अवस्थामा म छैन । सय संख्या आवश्यक र तार्किक छैन भन्ने विषय वैदेशिक रोजगार ऐनमा संशोधनको निर्णयले पुष्टि गरेको छ । तर यसका लागि सबैको एउटै र सकारात्मक दृष्टिकोण बन्न जरुरी छ ।’

यसअघिको सरकारका श्रममन्त्री डोलप्रसाद अर्यालले बाधा अड्काउ फुकाउ आदेशका लागि मन्त्रिपरिषद् लगेको प्रस्ताव फिर्ता लिएपछि २ सय ५९ म्यानपावर व्यवसायीले असार मसान्तपछि कामदार उडाउन पाएका छैनन् । लाइसेन्स नवीकरण नहुँदा वैदेशिक रोजगार विभागले आफ्नो प्रणालीमा उनीहरूको कारोबार रोक्का गरेको छ ।

मन्त्री भण्डारीले वैदेशिक रोजगार वर्तमानको रहर नभइ बाध्यता भएकाले यसलाई सुधार गरेर व्यवसायीहरू आपसमा खिचातानी नगरी इमानदारपूर्वक एक ठाउँमा उभिन आवश्यक भएको बताए । यसअघि आफू श्रममन्त्री हुँदा अध्ययन कार्यदल गठन गरी समस्याहरूको पहिचान र समाधानको प्रयास गरेपनि आफू बाहिरिएपछि त्यसलाई बिगार्ने र उल्ट्याउने ‘स्याबोटेज’ गर्ने मात्रै काम गरेर समयको बर्बादी गरिएको भन्दै उनले असन्तुष्टि जनाए । 

नेपाल आउने कामदारको मागपत्र प्रमाणीकरणमा मन्त्रालयले पठाएका काउन्सिलर श्रम र श्रम सहचारीको भूमिका कमजोर बनाएर श्रम मन्त्रालयले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप हुदाँ पनि प्रतिवाद नगरेर बस्नु आफूले अस्वभाविक ठानेको पनि मन्त्री भण्डारीले टिप्पणी गरे । विदेशस्थित नियोगबाट प्रमाणीकरण हुन नसकेका मागपत्र श्रम मन्त्रालयबाट प्रमाणीकरण गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएको र सम्बन्धित समितिमा पुगेको अवस्थामा फिर्ता भएको देखिएको भन्दै मन्त्री भण्डारीले प्रश्न गरे, ‘किन, कसका लागि त्यसो गरिएको हो ?’

बधाई तथा शुभकामना कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र भण्डारीले संख्या सय समस्या, मागपत्र प्रमाणीकरण, यूएईको बाइक राइडरसहित महिला कामदारको समस्या समाधानका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा मन्त्री भण्डारी सबै समस्याको एक–एक गरेर समाधान गर्नुभन्दा सबै दल निकटका व्यवसायी, विज्ञ, मेडिकल, अभिमुखीकरण र बिमा व्यवसायी सम्बद्ध सबैलाई समेटेर उच्चस्तरीय कार्यदल बनाइ समस्याको समाधान गर्ने बताए । उनले कसैलाई ओझेलमा नपारी सबैका समस्या पहिचान र समाधानको पहल गर्नुपर्ने मन्त्रालयको दृष्टिकोण रहेको बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेकाले त्यसमा व्यवसायीले आफू आबद्ध राजनीतिक दलमार्फत प्रयास गर्न व्यवसायीलाई आग्रह गरे । उनले भने, ‘कहिलेकाहीँ एक्लो बृहस्पति पनि झुटो हुने अवस्था हुन्छ । वैदेशिक रोजगारका एजेण्डा र समस्या लगभग पहिचान भएको छ । तर एउटामात्र पक्षले समाधान दिन सक्ने अवस्था छैन । सबै मिलेर जान जरुरी छ ।’ मन्त्री भण्डारीले आफ्नो यसपटकको कार्यकालमा लामो समयदेखि समाधान नभएका कुनै पनि समस्या बाँकी नराख्ने गरी काम गर्न चाहेको पनि बताए ।

संघका अध्यक्ष भण्डारीले मागपत्र प्रमाणीकरणमा संख्या तोक्ने दूतावासहरूको तजबिजी शैलीले नेपाली कामदार राम्रो तलब सुविधामा जान नपाएको र रोजगारदाता दिक्क परेको भन्दै मन्त्रालयले मागपत्र प्रमाणीकरणमा दूतावासहरूको तजबिजी शैलीमा सुधार गर्न नसके नेपालीको वैदेशिक रोजगार बजार समाप्तिको दिशामा जाने खतरा रहेको बताए ।

कार्यक्रम सञ्चालन गरेका संघका महासचिव मेघनाथ भुर्तेलले पनि अनलाइन मागपत्र प्रमाणीकरणको नाममा बेथिति चुलिएकाले व्यवसायी निराश हुने अवस्थामा पुगेको टिप्पणी गरे । ‘मागपत्र अनलाइन अटोमेसनबाट प्रमाणीकरण सहजताका लागि भनिएको थियो,’ उनले भने, ‘तर यो सियो बनेर पसी फाली बन्दै छ । फेमिस बाहेक अन्य प्रणाली वैदेशिक रोजगार ऐनले चिन्दैन । यसमा पनि मन्त्रालयले गम्भीररुपमा ध्यान दिन आवश्यक छ ।’

मन्त्रालयका सचिव घनश्याम उपाध्यायले बाइक राइडरको समस्या समाधानको पत्राचार भएको जानकारी दिए । त्यस अवसरमा पूर्वअध्यक्ष प्रेम बहादुर कटुवाल, सल्लाहकार रघुनाथ पुरी, वरिष्ठ व्यवसायी हेम गुरूङ र नवराज केसीसहित सबै घटक संस्थाका अध्यक्ष तथा कार्यसमिति सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise