
काठमाडौं : मलेसिया सरकारले नेपाललगायत पाँच देशका लक्षित म्यानपावर कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न नसकिने भन्दै कूटनीतिक नोट पठाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पत्र लेख्दै १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थ रहेको जनाएको थियो ।
सोही पत्र परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली दूतावास हुँदै मलेसिया सरकारलाई पठाएको हो ।
पत्रमा यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान निकाल्न आग्रह गरिएको छ ।
मलेसियाको विदेश मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्राचार गरी १० बुँदे मापदण्डबारे जानकारी गराएको थियो ।
त्यसअनुसार मलेसियाको मानव संशाधन मन्त्रालयले १५ नोभेम्बर २०२५ भित्र म्यानपावर कम्पनीको विवरण पठाउन अनुरोध गरेको छ । मापदण्ड तोकिने देशमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र म्यानमार छन् ।