– शारदा पौडेल
एकमाना पीठोको बन्दोबस्त भएको घर, मिल्दा कुटुम्ब र केटाले लेखपढ गरेकै छ भनिठानेर बाले मलाई पहाडमै भएपनि दिनुभयो । म तराईको समथरमा जन्में त्यही हुर्कें, त्यसैले मेरो लागि पहाड त क्षितिज खुलेको समयमा दक्षिणतिर देखिने हाम्रो भूगोलको अन्तिम भाग पो होकि जस्तो लाग्थ्यो । आमासँग सकेसम्म विरोध गरें तर, बाको अगाडि मेरो केही लागेन । त्यसैले घर, छरछिमेक, इष्टमित्रहरुले जोसँग अन्माइदिए, त्यसैसँग खुरुक्क अन्मिएँ ।
साथीहरुको बिहेमा बरियात, बाजागाजा, कल्स्यौली, मड्यौलीसहित सजाइएको गाडीमा दुलाहा आएको देख्दा आफूलाई पनि भित्रीमनमा काउकुति लागेर आउँथ्यो । तापनि, जन्मिई हुर्किई गरेको घर, आफूले रोपेका र समय–समयमा गोडमेल गरेका लहरा लतिका, हेरचाह गरेका वस्तुभाउ सबैलाई चटक्क माया मारेर बिरानो ठाउँमा बाटो लाग्नुपर्दा मनमा संकोच त जन्मने नै रहेछ ।
घरमा अपरिचित मानिस आएको देखेँ भने डर लागेर आउँथ्यो । मनमा नानाथरीका कुरा खेल्न थाल्थे । त्यस्तैमा एकदिन कलेजबाट घर आइपुग्दा घरमा अपरिचितहरुकै हुल देखेँ । त्यहाँ कुनै बुढा, कुनै अर्धबैंसे थिए भने एकजना चाहिँ पातलो ज्यान गरेको युवक पनि थियो । मनमा शंका उब्जियो कतै...! एकाएक सबैतिर अन्धकार छाएर पृथ्वी भासिए जस्तो भान भयो । मैले तिनीहरुको नजिक जान मनासिप ठानिनँ बरु आफ्नै कोठाभित्र बसिरहें ।
“नानी यता आइज न !” नेपत्थ्यबाट आमाको सानो आवाज आयो । अब मलाई झनै आपत पर्यो । बाहिर निस्किएर आमाले बोलाउनु भएतिर गएँ । आमाले आफूले नहुने भएकाले पाहुनालाई चिया पकाइदिन अह्याउनुभयो ।
आ...! आखिरी मानिस नै हुन् के फरक पर्छ र भन्ने हिम्मत मनमा जुटाएँ र ती अपरिचितहरुको बीचमा उभिएर सबैलाई एकमुष्ठ “नमस्कार” भन्दै चिया पकाउन भान्सा कोठातिर छिरें । त्यहाँ कहिले पानी नपरेर खडेरीले बाली बिग्रिएको कुरा, कहिले गाउँमा मोटरबाटो खनेको कुरा, कहिले आफ्ना छोराछोरीहरुको पढाइका कुराहरु भइरहेका थिए ।
यत्तिकैमा भान्साको ढोकामा त्यो युवक उभियो र मलाई सोध्यो– “ट्वाइलेट कता छ ?”
मुहारतिर हेर्दा पनि नहेरी इसारा गरिदिएँ, तर उसले झनै नबुझें गरेर फेरि सोध्यो । मैले उसलाई पुलुक्क हेरें, नजर जुध्यो, ऊ मुसुमुसु हाँसीरहेको थियो । जब ऊ त्यहाँबाट ट्वाइलेटतिर गयो, किन किन मलाई त त्यसैलाई हेरिरहन मन लाग्यो । सफा कपडा लगाएको पातलो आङको थियो ऊ । चिया तयार भयो । ऊ नआउँदै चिया पुर्याएर फर्कने विचारले चिया लिएर गएँ ।
त्यहाँ बसेका मध्ये एकजनाले भने– “चिया कति चाँडो पकायौ त नानी । म केही बोलिनँ मुसुक्क हाँसेर भान्सामा फर्किएँ । भान्साकोठाबाहिर आइपुग्दा पुनः उसैसँग जम्काभेट भयो ।
“खोइ त मलाई चिया ?” ऊ त परिचित नै भएजसरी पो बोल्यो, मेरो शंका यथार्थमा परिणत भएजस्तो लाग्यो ।
उनीहरुको र बुवाबीचमा लामो कुराकानी भयो । मैले त्यही कुराबाट अबदेखि यो घर मेरो माइतीघरमा रुपान्तरण हुने सुइँको पाएँ । तिनीहरु उठेर गए, मेरो मनमा किन हो किन त्यो युवक अचम्मले पस्यो ।
तिनीहरु गएपछि आमाले मलाई बिवाह गरेर त्यही केटालाई दिन लागेको कुरा राख्नुभयो । मलाई त्यति चित्तबुझ्दो कुरा लागेन, आमासँग रोइकराई त गरें, तर बाले वचन, दिइसक्नुभएको र अब पहाडमै गएर खेतीपाती गरेर बस्नुपर्ने परिस्थिति पनि नभएको तर्कहरु राख्नुभयो । म कोठातिर गएँ । हात गोडा फतक्कै गलेजस्ता भए । मनमा त्यो केटो को होला ? कहाँको होला ? के गर्छ होला ? जस्ता अनुत्तरित प्रश्नहरु उब्जिइरहे । आखिरमा मेरो बिहे त्यही युवासँग नै भयो । जन्ती नजिकैबाट आएपनि मलाई पहाडघरमा भित्र्याउने रे भन्ने सुन्थेँ ।
नारायणगढबाट गन्तव्य स्थानमा जान थोरै मानिस मात्र बाँकी थिए । म उसको साथमा नाइटबसको सिटमा बसेकी थिएँ । बसको हल्लाईसँगै जब उसँग ठोकिन पुग्थेँ तब शरीर नै सिरिङ भएर आउँथ्यो, कताकता डर लाग्थ्यो । अनौठो अनुभव बटुल्दै बिहान पोखरा पुग्यौं ।
एउटा सानो होटलमा लगे । पहाडको बाटो हिँड्न सजिलो हुन्छ भनेर सुतीको साडी र पायल चप्पल लगाउन भने त्यहाँमध्येका एकजनाले । होटलको कोठाभित्र छिरेर धोती फेरें, साथीहरुको बिहे हुँदा आफ्नो मनमा उब्जने कल्पनाहरु सिसाझैं फुटेर धूलो भएको कल्पना गरें र एक्लै रोएँ ।
“हुने हार दैव नटार” भन्ने नेपाली उखान सम्झिएँ, मन बुझाएँ र बाहिर निस्किएँ । उनीहरु हिँड्नलाई तयार भैसकेका थिए । जब म त्यहाँबाट उकालो लागेँ एकपटक दक्षिणतिर फर्केर हेरेँ र तराईको समथर भूभागसँग रुँदैरुँदै बिदा मागें । चारकोशे झाडी, त्यहाँभित्रका चराचुरुङ्गीको आवाज कानमा गुन्जिरहेझैं लाग्यो ।
कार, ताम्दानी वा घोडामा चढेर हिँड्न पर्ने कठै म दुलही मान्छे सुतीको धोती र चप्पल पड्काएर बेहुलाको पछि पछि लागी खोलाको किनारै किनार, भीरपाखा हिँड्नुपर्दा घरिघरि त्यही हाम्फालुँ कि जस्तो पनि लाग्थ्यो । बोलौँ के भनेर बोलौँ, ऊ बोल्थ्यो म सुन्थें मात्रै । चप्पलले खुट्टामा फोका उठाएको थियो । सानो गोरेटो बाटो पानीका कारण चिप्लो भएको थियो । बाटोमा जुका लाग्छ भन्थे । यस्तैमा झमक्क साँझ पर्दा बल्लतल्ल घर पुगियो । त्यहाँ रमाइलो गरिरहेका थिए । बेहुली भित्र्याउने, मुख हेर्ने भनेर मान्छेहरु खासखुस गर्दै थिए आफू थकाइले लखतरान परेकी थिएँ । भित्र्याउने, मुख हेर्ने र खाना खाने काम पनि क्रमैसँग सकियो । केही समयपछि सुत्ने ठाउँ देखाउन लगे । घरको बार्दलीलाई कोठा बनाइएको र जानको लागि काठको सानो लिस्नो राखिएको थियो । म त्यो लिस्नो देख्नेबित्तिकै डराएँ । तर डराएर पनि काम थिएन । चढ्छु नै भन्ने सोचेर केही खुड्किला चढेको लडें, घुँडामा सामान्य चोट लाग्यो ।
मेरो सब कठिनाईलाई नजिकबाट नियालिरहेका मान्छेले लिस्नो चढ्न मद्दत गरे । केही समयपछि भाँटामा चिसो पानी ल्याएर खुट्टा डुबाउन लगाए । दुखेको घाउमा मलम लगाइदिए र जीवनमा दुःख नदिने कसम खाए, उनले मप्रति देखाएको सदासहताले त्यहाँ हामीबीचमा अनौठो किसिमको मायाको जन्म भयो ।
भोलिपल्ट उज्यालो भइसकेको थियो । सूर्यले उषालाई विस्तारै स्पर्श गर्दै थिइन् । मेरो लागि त्यो दृश्य नौलो थियो । पहिलो दिनकी बेहुली हुनाले मैले केही काम गर्नु परेन, अर्को दिनदेखि त दैलो पोत्न सिकाए, घरदेखि केही टाढाको पँधेरोबाट पानी ल्याउन लगाए । म डोको बोक्न पनि जान्दैनथ्येँ ।
दिन ढल्कँदै गयो बिस्तारै सूर्य पश्चिमी दिशाबाट हरायो र त्यो पहाडी भूभागलाई सन्ध्याले स्पर्श गर्यो । साँझमा गुँडमा बस्न आएका चराहरुको आवाज, एकोहोरो कराइरहेका कीराहरु र खोलाको सुसाइ मेरा लागि अनौठा थिए । म माइतीघरको सम्झनामा सोचमग्न भएँ । वरिपरि चुक घोप्टिएजसरी अँध्यारो खनियो । मैले जुठोचुलोको काम सकें । अब फेरि लिस्नु चढेर कोठामा सुत्न जानु थियो । उनले हात समातेर लिस्नो चढ्न सघाए । अब मलाई किन किन त्यो दुब्लो युवक एकाएक एक सुन्दर र आफ्नै मान्छेको रुपमा परिणत हुन थालेको आभास हुनथाल्यो ।
त्यो रात उनी मसँग जिस्किन र चल्न खोजे, मनमा काउकुती लागे पनि म तर्कन खोजें । तर केही जोर चलेन । केही क्षणमा उनी कोल्टो परेर सुते । मैले बोल्ने साहस बटुल्दै भनेँ– “निदाउनु भयो ?” आवाज आएन । हात उचालेर कोट्याएको के थिएँ, मेरा हात समाएर सुम्सुमाउन थाले । आँखा, निधार, मुख, छाती सबै एक भए । सांसारिक सुख प्राप्त भएजस्तो र केही पीडा भए पनि पीडाभित्र माया थपियो । अस्ति नै घरमा आएको यो लुरे युवक आज एकाएक राम्रो लाग्न थाल्यो । उसैको छेउमा बसिरहुँ र उसैका कुरा सुनिरहुँ जस्तो लाग्नथाल्यो । हुन पनि मेरो लागि संसारमा सबैभन्दा नजिकको आफ्नो मान्छे नै उही थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies