२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

बिहानैदेखि भिडभाड नगर्न कतारका सेवाग्राही नेपालीलाई दूतावासको आग्रह

Nada
२०८२ कार्तिक २७ गते ०६:१५
Shares
बिहानैदेखि भिडभाड नगर्न कतारका सेवाग्राही नेपालीलाई दूतावासको आग्रह

काठमाडौं : कतारस्थित नेपाली दूतावासले नेपालीहरूको बिहानैदेखि भिडभाड गर्ने शैलीका कारण गुनासो बढेको बताएको छ । विभिन्न समस्याबाट पीडित भएका नेपाली बिहान ५ बजे नै नेपाली दूतावास पुग्ने गरेका छन् ।

ncell

नेपालीहरूको बिहानैदेखि भिडभाड, खुला स्थानमा लामो समयसम्म सवारी साधन पार्किङ गर्ने बानीका कारण दूतावास आसपास निवास भएका कतारीहरूले ‘डिस्टर्ब भएको’ भन्दै गुनासो गर्ने गरेको दूतावासको भनाइ छ ।

दूतावासले एक विज्ञप्ति नै जारी गरेर दूतावासको कार्यालय परिसर बाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला हुने, खुला स्थानमा लामो समयसम्म सवारी साधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठुलो स्वरमा कुराकानी तथा होहल्ला गर्ने कार्यले छिमेकमा रहेका बासिन्दाहरूलाई असहज भएको भनी बारम्बार गुनासो आइरहेको हुँदा सम्पूर्ण सेवाग्राहीलाई कार्यालय समयलाई ख्याल गरेर मात्र सेवा लिन आउन आग्रह गरेको छ ।

छिटो आउनै पर्ने भए बिहानको आठ बजे मात्र आइपुग्न र सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित हुन तथा दूतावास र कतारी कार्यालय आसपास लामो समयसम्म अनावश्यक रूपमा बस्ने कार्य नगर्न पनि दूतावासले आग्रह गरेको छ । कतारमा नेपालीहरूले कन्स्ट्रक्सन, होटेल–रेस्टुरेन्ट, सुपरमार्केट, सेक्युरिटीसहितका विभिन्न सरकारी, अर्धसरकारी क्षेत्रमा काम गर्दै आएका छन् । 

कतारमा हाल करिब ४ लाख नेपाली कार्यरत रहेका छन् । तर नेपाली दूतावासले न्यून जनशक्तिका कारण अपेक्षाअनुसारको सेवा पुर्‍याउन सहज नभएको बताउँदै आएको छ ।

कतारमा विदेशी श्रमिकका लागि ३ महिनाको परीक्षणकाल हुने गरेको छ । तर सो समयमा पूरा तलब नदिएको, पटकपटक ठाउँसारी गरेर काममा लगाउने गरिएको जस्ता गुनासा आउने गरेको बताइएको छ ।

सम्बन्धित खबर