पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत पुस १९ मा २ प्रतिशतको हाराहारीमा रहेको संक्रमणदर माघ १ मा आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । शनिबार देशभर थप ४ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार १४ हजार ५५६ जनामा कोरोना परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार शनिबार भेटिएको संक्रमितको संख्या पछिल्लो लहरमा भेटिएको मध्ये सबैभन्दा उच्च पनि हो ।
गत पौष १७ मा दैनिक तथ्यांकमा २४ घण्टाको अवधिमा ३८२ जनामा कोभिड संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजारभन्दा कम थियो । त्यतिबेला ४७ सयभन्दा बढी व्यक्ति होम आइसोलेसनमा थिए र झण्डै अढाई सय जना मात्रै संस्थागत आइसोलेशनमा थिए । त्यति संख्यामा सक्रिय संक्रमित हुँदा ८९ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा थिए । तर, माघ १ सम्म आइपुग्दा देशभर २१ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । जसमध्ये ११९ जना आई.सि.यु.मा छन् भने २६ जना भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयले जनाएअनुसार काठमाडौं उपत्यकामा भएका सबै अस्पतालमा भेन्टिलेटरको संख्या कुल १५७ मात्रै छ । जसमध्ये अधिकांशमा क्रमशः बिरामी थपिँदै छन् । संक्रमितको बढ्दो तथ्यांकलाई आधार मान्दा केही साताभित्रै देशभर अवस्था नियन्त्रणभन्दा बाहिर जाँदै छ ।
गत मंसिर तेस्रो साता नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका थिए । ओमिक्रोनको संक्रमित भेटिएसँगै विज्ञहरुले थप सचेतता अपनाइहाल्न सुझाव दिएका थिए । तर, सत्ता सञ्चालनको जिम्मेवारी पाएका दलहरु भने महाधिवेशन र अधिवेशन भन्दै शक्ति प्रदर्शनमा जुटे । वडा तहदेखि केन्द्रसम्म भएका खुलम खुला शक्ति प्रदर्शनले कोरोना संक्रमण बढाउन थप मद्दत ग¥यो । सत्तारुढ माओवादी केन्द्रको महाधिवेशन सकिए लगत्तै शीर्ष नेताहरु आइसोलेसनमा बस्ने अवस्था बन्यो । तर, सचेतता अपनाउने अवस्था भने बन्न सकेन । माओवादी महाधिवेशन सकिए लगत्तै अन्य दलका जिल्ला अधिवेशनहरु भव्य रुपमा गरिए । जसले पनि संक्रमण बढाउन निकै मद्दत गरेको देखिन्छ ।
अहिले संक्रमणदरको ग्राफले निकै चिन्ताजनक अवस्था बन्दै गरेको संकेत गरेको छ । तर, पछिल्लो अवस्थासम्म पनि सरकारले उचित सावधानी अपनाउन सकेको छैन । सरकारले न त नागरिकलाई सचेत बनाउन सकेको छ न त आफ्ना गतिविधिलाई सच्याउन सकेको छ । पछिल्लो तथ्यांकलाई हेर्दा काठमाडौं उपत्यका निकै जोखिममा देखिन्छ । तर, सचेतता भने निकै न्यून छ । यसले थप जोखिमलाई संकेत गरेको छ । सरकारले बेलैमा उचित कदम चाल्न नसके महामारी यसअघिकै अवस्थामा पुग्ने कुरामा दुईमत देखिन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies