– ज्ञानीराजा मानन्धर
चन्द्रबहादुरले भाइराजा र बाबुकाजी दुवै जनालाई धेरै समय पछि फोन गरे । शुरुमा आफ्नो परिचय दिए र सम्झना दिलाए । त्यसपछि धेरै कुरा नगरी उनीहरुको हालखबर सोधे । दुबैलाई भेट्न भोली घरमा आउँदैछु, समयमै तयार भएर बस्न अनुरोध गर्दै फोन राखिदिए । भोली पल्ट आफै आफ्नो चिल्लो मर्सिडिज गाडि हाँकेर गए चन्द्रबहादुर । दुबै जनाको घरमा गई सँगै लिएर आफ्नो घर फर्के । दुबै असमंजसमा थिए कि के गर्न लाग्यो यस्ले भनी ।
ठुलो बैठक कोठामा दुबैलाई राखे । बैठक कोठाको सजावट देखेर दुबैको मुखबाट निस्के “आहा !” बाबुकाजिले मनमनै सोचे’ कति प्रगति गरेछ यस्ले त ! महल जस्तो घर, मुल्यवान गाडि । आफ्नो त छोराहरु नालायक भएर निस्के । पुर्खौँदेखि गरी आएको काममा मलाई सहयोग गरी दिएको भए आज मेरो पनि यस्तै महल जस्तो घर हुने थियो । के गर्नु आफ्नो त कर्मै यस्तो । आँखा कमजोर भएर कामै छोड्नु परेथ्यो ।
उनीहरुलाई राखेको बैठक कोठामा एकजना उमेरले सोह्र÷सत्र बर्षकी देखिने ठिटी आएर दुबैलाई नमस्कार गरीन् ।
चन्द्रबहादुरले “यिनी मेरी छोरी आराध्य हुन् । अहिले प्लस टू पढ्दैछीन् काठमाडौंकै एउटा राम्रो स्कूलमा । डाक्टर बन्ने विचार गरेकी छिन् छोरीले । आफु त अनपढ गंवार परें । हजुरहरुलाई त थाहा नभएको हैन ।” भनेपछि बाबुकाजिले सोधे, “यी एउटी छोरी मात्रै हो तिम्रो ? छोरो पनि थियो हैन र ?”
“हो नि दाइ । एउटा छोरो पनि छन् नि । तर, उनी अहिले यहाँ छैनन् । अमेरिकामा छन् ।” भनी जानकारी गराए । र, छोरीलाई पनि भाईराजा र बाबुकाजिको परिचय दिए चन्द्रबहादुरले “उहाँ भाईराजा दाइ । मैले उहाँलाई भाईदाइ भनी सम्बोधन गर्ने गर्थें । म गाउँबाट पहिलो पल्ट काठमाडौं आउँदा कोठा पाउनलाई धेरै मुश्कील परेको थियो । अन्तमा उहाँँकै घरको छिँडिमा करीब करीब ५ वर्ष जति भाडामा बसेको थिएँ । उहाँले मलाई आफ्नै छोरोलाई जस्तो व्यवहार गर्नुहुन्थ्यो । त्यसबेला छिँडिमा बसेर मैले रांगाको हड्डिको सामानहरु बनाएर काठमाडौंका विभिन्न ठाउँमा रहेका निर्यात कम्पनीहरु धाउने गर्थें । हड्डिको सामानहरुमा अरु भन्दा कमीजमा लगाइने टाँकहरु बढी बनाउने गर्थें मैले । एक दुई जना कामदारहरुलाई पालेर राखेर पनि आफ्नो गुजारा ठिक ठाकै चलिरहेको थियो । गुजारा मात्र चलाएर पनि नपुगे पछि दिनरात मेहनत गर्थें । कहिलेकाहीँ आपत पर्दा भाई दाई सँगै मैले धेरै आर्थिक सहयोग लिएको पनि छु ।
बिरामी पर्दा पानी ख्वाउनेसम्म पनि मेरो साथमा हुँदैनथे । उहाँको परिवारले मलाई आफ्नै सम्झेर मेरो हेरचाह गर्नुहुन्थ्यो । काठमाडौं पसेको एक दुई महिना बित्न नपाउँदै रुघा खोकिले स्वास प्रश्वासको समस्या भएपछि अस्पतालमा दुई÷चार दिन भर्ना हुनु परेको थियो । भाई दाइको परिवारले नै मलाई त्यसबेला सहयोग गर्नु भएको थियो । अस्पतालमा कुरुवासमेत बसिदिनु भएको थियो । मेरो लागि भाउजुले बिहान र बेलुकीको खाना बोकेर आउनु हुन्थ्यो ।” त्यसैबेला घरी घरी बजिरहेको उस्को मोबाइल फोनमा फेरी कसैले फोन गरेर ल्याए । यस पल्ट उस्ले मोबाइल स्विच आँफै गरिदिए र कुरा अगाडि बढाए ।
“महिनै पिच्छे आइरहने उहाँहरुको चाडपर्वमा मिठो मिठो नेवाः परिकारहरु त कति खाएँ कति ! अहिले पनि मलाई उहाँकी धर्मपत्नीले बनाएर ख्वाउने यःमरि सम्झेर आए भने मुखमा पानी आउँछ । जात्रा पर्वमा उहाँ र टोल छिमेकीहरु सँगै जाँड रक्सी खाएर नाचेको र उपद्र गरेको सम्झँदा त अहिले पनि सब कामलाई फालेर जाउँ जाउँ लागेर आउँछ ।” भनी भाईराजा तिर ईशारा गर्दा भाईराजाले शीर हल्लाए र भने, “हो, चन्द्रे .......।” भनी पहिले जस्तै माया दर्शाएर आफ्नो नाम लिएको सुनेर भाव बिभोर भए चन्द्रबहादुर । उनकी छोरी कोठाको एक कुनातिर आफ्नो बाउले आफ्नो जीवनका बिगतका पानाहरुलाई पल्टाइरहेको ध्यान दिएर सुनिरहेकी थिइ ।
चन्द्रबहादुरले आफ्नो कथा फेरी शुरु गर्नै लागेकै बेला उस्की पत्नी एउटा थालमा चिया बोकेर आइपुगीन् । दुबैलाई नमस्कार गरीन् र उस्ले चिनेका बाबुकाजिलाई “सच्चै हुनुहुन्छ दाइ ? मलाई चिन्नु भो ?”
भन्दा बाबुकाजिले मुख खोले “किन नचिन्नु नि । पार्वती हैन ?” भनेर सोधे ।
पार्वतीले, “हजुर । घरमा भाउजु आरामै हुनुहुन्छ नि ?”
बाबुकाजिले “ठीक छ । अनि तिमी त चिन्नै नसक्ने गरी मोटाएकी रहिछौ । के मात्र खान्छ्यौ हाँ, कति सार्हो मोटएकी घ्याम्पो जस्तो । हाम्रो त जति खाए पनि बाँसको बाँसै”, भन्दा सबै गलल हाँसे ।
पार्वतीले जवाफ दिइन्, “के खानु नि दाइ । उही त हो नि नेपालीहरुको खाना दाल भात ।”
सबैले चिया पिए । चन्द्रबहादुरले फेरी आफ्नो कुराहरु राखे
“मेरो सीपलाई राम्ररी बुझेका भाईदाइले मलाई पित्तलको काममा हात हाल्नु भनी सल्लाह दिनु भएकोथ्यो । उहाँको कुरो मनाशिव लागेर मैले पित्तलको सादा बट्टाहरु बनाउन शुरु गरेँ । धेरैले मनपराए । विदेशमा राम्रै निकासी हुँदो रहेछ । त्यसबेला पित्तलको बजार पनि राम्रै थियो ।
तर, पछि बिस्तारै नेपालबाट सामान आयात गरिरहेका विदेसीहरुलाई सादा पित्तलको बदलामा बुट्टा कुँदिएको चाहियो भनी यहाँका निकासीकर्ताहरुले मेरो सामान नलिदिँदा मलाई धरै नै मर्का परेकोथ्यो । त्यो बेला भाईदाइले नै मलाई पाटनमा आफुले चिनेका मान्छे जो बुट्टा कोर्नमा माहीर हुनुहुन्थ्यो, उहाँसँग मेरो चिनजान गराइदिनु भो र म त्यहाँ गएर त्यो काम पनि सिकेँ । उ उहाँ नै हुन् मलाई बुट्टा कोर्न सिकाउने बाबुकाजि दाइ”, भनी बाबुकाजी तिर ईशारा गरे ।
तीन महिनामै मैले पित्तल र चांँदीको गहनाहरुमा मात्र हैन, सुनको गरगहनाहरुमा पनि बुट्टा हान्न सिकेँ । परम्परागत शैलिका चित्रहरु कोर्न मलाई औधी मनपथ्र्योे । म बाबुकाजि दाइप्रति पनि धेरै धेरै आभारी छु दाइ”, भनी बाबुकाजिलाई प्रणाम गरे ।
बाबुकाजिले भने “तिम्रोमा सीप थियो, तिमीले छिट्टै सिक्यौ र जान्यौ । कोही कोही त भन्छन् नि कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि कहिल्यै सिधा हुँदैन, बाङ्गै भने जस्तै ।”
“हो दाइ हजुरको कृपाले मैले चाँडै नै सिकें ।“
चन्द्रबहादुर बोल्याबोल्यै गरिरहेको थियो । बीचैमा भाईराजाले “ती सब कुराहरु सम्झनैमा मात्र सिमित भइसके अब । कति भो ? २५ वर्ष जति भएन होला तिमी काठमाडौं पसेको ?” भन्दा चन्द्रबहादुर “कहाँ २५ वर्ष भाईदाइ ! ३२ वर्ष भइसक्यो ।”, भनेपछि बाबुकाजि छक्क प¥यो र भन्यो “बाप रे ....!”
भाईदाइले “लौ त कुरा मात्र गरिरहने हो कि, काम कुरो पनि शुरु गर्ने हो ? तिमीले हामीलाई बाटोमा पनि केही भनिनौ । हामीलाई यहाँ तिम्रो घरमा किन बोलायौ भन । के पर्यो तिमीलाई ?” भनेपछि चन्द्रबहादुरले छोरीलाई “जाउ त छोरी । आमालाई छिट्टै आउनु भन्नु”, भनेर पठाइदिए ।
एकछिन पछि पार्वतीले पूजाको थाली र उनकी छोरी आराध्यले एउटा हातमा फलफुलहरु टन्नै भएको किस्ती र अर्को हातमा सुकुन्दा बोकेर आइन् ।
बाबुकाजी र भाईराजा दुवै आश्चर्य मान्दै हेरिरहेका थिए । त्यही बेला चन्द्रबहादुरले भने “आश्चर्य मान्नु पर्दैन दाइहरु । सबभन्दा पहिले त मलाई माफ गर्नु होला, मैले पैसो कमाउने धुनमा तपाइँहरुलाई बिर्सेंछु । हजुरहरु मेरा मार्गदर्शक भएर पनि कहिल्यै केही गर्न सकिन । आज धेरै वर्ष पछि तपाईंंहरुलाई सम्झी यहाँ बोलाई तपाईंंहरुलाई सम्मान गर्न लागिरहेको छु । आज गुरु पुर्णिमाको दिन पनि हो र म यो पल क्षणलाई यादगार बनाउन चाहन्छु । अबदेखि म बाँचुुन्जेल हरेक गुरु पुर्णिमाको दिन तपाईंंहरु दुबैलाई सम्झी सम्मान गरिरहुँला । तपाईंंहरुले मप्रति गर्नु भएको गुणहरु मैले कहिल्यै बिर्सिन्न ।”
पूजा शुरु भो । दुबैको हातबाट आशिर्वाद थापे चन्द्रबहादुरले ।
अन्तमा फर्किने बेला बाबुकाजिले मुख खोले “मैले तिमी जस्ता सयौं जनालाई आफुले जानेको सीप सिकाएको छु । तर, कसैले आजसम्म मलाई यस्तो सम्मान दिएको थाहा छैन । तिमीले ढिलै भए पनि हामीलाई सम्झ्यौ र बोलाएर सम्मान गर्यौ । तिम्रो यस कार्यलाई पनि हामीले कहिल्यै बिर्सिने छैनौं । तिम्रो जय होस् । यसरी नै प्रगति भएर गएको यो बुढो आँखाले हेर्न पाओस्” भनी भावुक भए । बाबुकाजी र पछि भेट्ने बाचा गरी बिदा भए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies