
क्वालालम्पुर, मलेसिया : मलेसियास्थित नेपाली राजदूतावासले म्यानुफ्याक्चरिङ क्षेत्रको रोजगारी नखुलेकाले सामाजिक सञ्जालका सूचनामा भर नपर्न आग्रह गरेको छ । हाल काठमाडौंका केही म्यानपावर कम्पनीले मलेसियामा म्यानुफ्याक्चरिङ क्षेत्रको रोजगारी खुलेको भन्दै अन्तर्वार्ता गरी रकम उठाउने गरेको जानकारी आएको भन्दै राजदूतावासका कर्मचारीहरूले सामाजिक सञ्जालमा विश्वास नगर्न आग्रह गरेका हुन् ।
उत्पादन क्षेत्र मलेसियाको जिडिपीमा दोस्रो ठुलो योगदानकर्ता र निर्यात रोजगारीको क्षेत्र हो । विगतमा म्यानुफ्याक्चरिङ क्षेत्र खुला रहेको अवस्थामा नेपाली महिलासहित ठुलो संख्यामा नेपाली कामदार आउने गरेका थिए । मलेसियामा सेमी कन्डक्टर भनिने विद्युत् र इलेक्ट्रोनिक्स, पेट्रोलियम, रसायन, रबर र प्लास्टिक उत्पादनहरू, खाद्य, पेय पदार्थ र सुर्तीजन्य क्षेत्र म्यानुफ्याक्चरिङ अन्तर्गत पर्दछन् ।
विदेशी प्रत्यक्ष लगानी भित्र्याउने म्यानुफ्याक्चरिङ क्षेत्र खुला भएको अवस्थामा मलेसियाको पेनाङ, कुलिम, क्लाङ उपत्यका र जोहोर जस्ता क्षेत्रहरूमा विदेशी कामदारको माग बढ्ने अपेक्षा छ । रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई अगाडि बढाउने भन्दै रोजगारदाताहरूले विदेशी कामदार खुलाउन आग्रह गरिरहेका छन् ।
नेपाली राजदूतावासले म्यानुफ्याक्चरिङ क्षेत्र खुला हुनेबारे चर्चा चले पनि मलेसिया सरकारका तर्फबाट आधिकारिक जानकारी नआएकाले सामाजिक सञ्जाल नभई आफ्नो आधिकारिक पेज वा विज्ञप्ति पर्खिन आग्रह गरेको छ । मलेसियामा कार्यरत नेपाली कामदारहरूले हाल राहदानी बन्ने समयसीमाको जिज्ञासा जस्तै म्यानुफ्याक्चरिङ क्षेत्र खुल्ने विषयमा बढी चासो दिएका छन् ।
मलेसियामा न्यूनतम तलब बढेको र म्यानुफ्याक्चरिङ क्षेत्रमा ओभरटाइम मिल्ने भएपछि कामदारको आकर्षण म्यानुफ्याक्चरिङ क्षेत्रमा बढेको बताइएको छ ।