२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

हिजबुल्लाहका सैन्य कमाण्डरको इजरायली आक्रमणमा मृत्युु, सोमबार अन्त्येष्टि

shivam cement
२०८२ मंसिर ८ गते २१:०४
Shares
हिजबुल्लाहका सैन्य कमाण्डरको इजरायली आक्रमणमा मृत्युु, सोमबार अन्त्येष्टि

बेरुत (लेबनान) : बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य प्रमुख र लडाकू समूहका अन्य सदस्यहरूको मृत्यु भएको भोलिपल्ट सोमबार उनीहरूको अन्त्येष्टि गरिएको छ । इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर हेथम अली तबाताबाई इजरायल र हेजबुल्लाहबीच गत बर्ष भएको युद्धविरामपछि मारिने हेजबुल्लाहका सबैभन्दा उच्च सैन्य कमाण्डर हुन् ।

इजरायलले लेबनानमा आफ्नो आक्रमण बढाएको र संयुक्त राज्य अमेरिकाले बेरुत सरकारलाई इरान समर्थित हिजबुल्लाहलाई निशस्त्र गर्न दबाब बढाएको समय शुक्रबार भएको हो । इजरायली सेनाले हिजबुल्लाहका प्रमुख जनरल स्टाफ हेथम अलि तबाताबाइ आफ्नो आक्रमणमा मारिएको पुष्टि गरेको छ ।

उक्त समूहले आक्रमणमा तबाताबाई र अन्य चार सदस्यको मृत्यु भएको घोषणा गरेको थियो । बेरुतको दक्षिणी उपनगरमा, हिजबुल्लाहको प्रभुत्व रहेको घना जनसंख्या भएको क्षेत्रमा सयौं समर्थकहरू तबाताबाई र उनका दुई साथीहरूको लागि सोमबारको अन्त्येष्टि जुलुसमा सामेल भएका थिए । 

एएफपीका एक संवाददाताका अनुसार हिजबुल्लाहका सदस्यहरूले उक्त समूहको पहेँलो पोशाकमा ‘कफिन’ बोकेर सहभागी भएका थिए । इजरायल र अमेरिकाबिरूद्ध नारा लगाएको उक्त समर्थकहरूको भीडले समूहका नेता र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको तस्बिर बोकेका थिए ।

अन्त्येष्टिमा सहभागी हिजबुल्लाह समूहका शुभेच्छुकले तबाताबाईले इजरायलसँगको सबैभन्दा पछिल्लो युद्धपछि सैन्य नेताको भूमिका ग्रहण गरेका थिए । समूहलाई पुनः संगठित हुनबाट रोक्न युद्धविरामका बाबजुद इजरायलले लेबनानमा दैनिक आक्रमण गर्दै आएको छ । हिजबुल्लाहले इजरायलसँगको सीमाबाट करिब ३० किलोमिटर (२० माइल) टाढा लितानी नदीको उत्तरमा फिर्ता हुने र त्यहाँ आफ्नो सैन्य पूर्वाधार भत्काउने सहमति पछि गत बर्ष युद्धविराम सम्झौता भएको थियो । 

सरकारद्वारा अनुमोदित योजना अन्तर्गत, लेबनानको सेनाले यस वर्षको अन्त्यसम्म यस क्षेत्रमा हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने काम समाप्त गर्नुपर्नेछ । हिजबुल्लाहले निशस्त्रीकरणको आह्वानलाई अस्वीकार गरेको छ । तबाताबाईको हत्यापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘हिजबुल्लाहलाई आफ्नो शक्ति पुनः निर्माण गर्न नदिने’ बताएका थिए र लेबनान सरकारलाई ‘हिजबुल्लाहलाई निशस्त्र गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न’ आग्रह गरेका थिए । –रासस/एएफपी

ADV

ताजा खबर

सम्बन्धित खबर