
क्वालालम्पुर, मलेसिया : मलेसियाका अधिकारकर्मीहरूले विदेशी कामदार भर्ना नीतिहरूको पूर्ण रूपमा पुनरावलोकनको माग गरेका छन् । उनीहरूले हाल गृह मन्त्रालयबाट विदेशी कामदारको कोटा एप्रुभल गर्दा ठुलो भ्रष्टाचार, जबरजस्ती श्रम र शोषणको मात्रा बढेको भन्दै विदेशी कामदार भर्ना प्रक्रियामा गृह मन्त्रालयको सट्टा मानव संशाधन मन्त्रालयलाई अधिकार हस्तान्तरण गरिनुपर्ने माग गरेका छन् ।
कोटाहरू निर्धारण गर्ने र पीडित आप्रवासी कामदारहरूलाई अपराधीका रूपमा व्यवहार गर्ने गरिएको भन्दै मलेसियाको नागरिक समाज अन्तर्गतका समूहहरूले गृह मन्त्रालयका नीति र भ्रष्टाचारजन्य गतिविधिले मलेसियाले मानव बेचबिखनको मूल कारण समाधान गर्न नसकेको देखिएको बताएका छन् ।
नर्थ–साउथ इनिसिएटिभका कार्यकारी निर्देशक एड्रियन पेरेराले आप्रवासी कामदार बेचबिखनको पछाडिका योजनाकारविरुद्ध पनि कुनै ठोस कारबाही नभएको बताए ।
उनले मलेसियामा विदेशी कामदारहरूलाई विशेष रूपमा व्यवस्थापन गर्ने कानुनको नयाँ मस्यौदा तयार गर्ने प्रस्तावसमेत गरेका छन् । ‘वासस्थान, स्वास्थ्य सेवा, सुरक्षा जस्ता पक्षमा व्यापक सुधार नभएको अवस्थामा अन्यथा शोषण जारी रहनेछ,’ उनले भनेका छन् ।
उनले मलेसियाले अपनाएको भर्नाको पद्धतिले विदेशी कामदारहरूको शोषण गर्ने व्यावसायिक मोडल अनैतिक रूपमा स्थापित भएको दाबी गरे ।
अमेरिकी विदेश विभागको सन् २०२५ को मानव बेचबिखन प्रतिवेदनमा मलेसियाले आफ्नो टियर २ श्रेणी कायम राखेको सार्वजनिक भएको बेला परेराले सिन्डिकेट वा श्रम बेचबिखनका घटनाहरू गम्भीरतापूर्वक छानबिन नभएको दाबी गरेका छन् ।
मलेसियाले एक वर्षमा ३ लाख बढी विदेशी कामदार घटायो । गत वर्ष अक्टोबरसम्म विदेशी कामदारको संख्या २१ लाख हाराहारीमा थियो । त्यसमा नेपाली कामदारको संख्या चार लाख हाराहारीमा रहेको छ । मलेसियामा नेपाली कामदारको उपस्थिति तेस्रो ठुलो छ । हाल मलेसियामा बंगलादेशका करिब ९ लाख र इन्डोनेसियाका करिब ६ लाख कामदार रहेका छन् ।
मलेसियाको श्रम कानुनमा हुने सानो परिवर्तनले पनि ठुलो संख्यामा नेपाली प्रभावित हुने गरेका छन् । हाल मलेसियामा आप्रवासी कामदारको वासस्थानबारे विभिन्न कमजोरी देखिएको मलेसियाका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मलेसियामा सुत्ने समय नपुगेर हृदयाघात हुने नेपाली कामदारको संख्या बढेको बताइएको छ । निद्रा अपुगका कारण प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने, अत्यधिक भिडभाडको अवस्थामा बस्ने कामदार संक्रामक रोगहरूको जोखिममा पर्ने बताइएको छ । अपर्याप्त निद्राको समस्याले मानसिक स्वास्थ्य विकारहरूलाई बढाइ आत्महत्या गर्ने चरणसम्म पुर्याउने चिकित्सकहरू बताउँछन् ।
अपर्याप्त निद्राका कारण सतर्कता र एकाग्रता कम हुँदा सडक दुर्घटनामा पर्नेको संख्यासमेत बढेको बताइएको छ । मलेसियाको आप्रवासी कामदार भर्नासम्बन्धी विषयमा भर्ना शुल्क, तलब, वासस्थान, उपचारलगायतका विषयमा तत्कालै समीक्षा हुनुपर्ने त्यहाँका अधिकारकर्मीहरूको भनाइ छ ।