
काठमाडौँ : यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ ।
लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । समान तीन खेल खेलेर छ अङ्क नै जोडेको विराटनगर किग्ङ्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । तीनमध्ये एक खेल जितेको काठमाडौँ तेस्रो, तीनमध्ये एक खेल नै जितेको लुम्बिनी लायन्स चौथो स्थानमा छ ।
चितवन राइनोज पाचौँ, कर्णली याक्स छैटौँ, साविक उपविजेता जनकपुर बोल्ट्स सातौँ र पोखरा एभेन्जर्स तालिकाको पुछारमा छ । दश खेल सम्पन्न भइसक्दा ब्याटिङमा विदेशी खेलाडीको प्रदर्शन उच्च देखिएको छ । बलिङतर्फ भने नेपाली खेलाडी अग्रस्थानमा छन् ।
कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडीको सबैभन्दा बढी एक सय ४७ रन बनाएका छन् । उनी हालसम्म सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । उनले प्रतियोगितामा शतकसमेत बनाएका थिए । जुन जारी सिजनको एकमात्र शतक हो ।
त्यसैगरी, उच्च स्कोर बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै छन् । चिनवन राइनोजका रवि बोपरा एक सय १८ रन बनाउँदै दोस्रो उच्च स्कोर बनाउने खेलाडीको सूचीमा छन् । रविले जारी प्रतियोगितामा दुई अर्धशतकसमेत हिर्काइसकेका छन् ।
प्रतियोगितामा तेस्रो र चौथो उच्च स्कोर बनाउनेको सूचीमा भने नेपाली खेलाडी रहेका छन् । हालसम्म एक सय १४ रन बनाएका विराटनगर किग्ङ्सका लोकेश बम तेस्रो स्थानमा छन् । उनले एक अर्धशतक प्रहार गरिसकेका छन् । चौथो नम्बरमा रहेका पोखरा एभन्जर्सका कप्तानसमेत रहेका कुशल भुर्तेलले एक सय १२ रन बनाएका छन् । यसमा उनले दुई अर्धशतक जोडेका थिए ।
यसैबीच हालसम्मको बलिङ प्रदर्शन हेर्ने होभने नेपाली खेलाडी प्रथम स्थान रहेका छन् । विराटनगर किङ्सका कप्तानसमेत रहेका सन्दीप लामिछाने सात विकेट लिँदै प्रथम स्थानमा छन् । दोस्रो नम्बरमा भने विदेशी खेलाडी रहेका छन् । सुदूरपश्चिमबाट खेलिरहेका हर्मित सिंह छ विकेटसहित दोस्रो स्थानमा छन् ।
सर्वाधिक विकेट लिने तेस्रो, चौथो नम्बरमा भने नेपाली खेलाडी अगाडि छन् । छ विकेट लिएका कर्णली याक्सका सोमपाल कामी तेस्रो र समान छ विकेट नै लिएका काठमाडौँका कप्तान करण केसी चौथो नम्बरमा छन् । पाँच विकेट लिएर पाँचौँ स्थानमा भने कर्णाली याक्समा अनुवन्धित विदेशी खेलाडी मिलिन्द कुमार छन् । उच्च रन बनाउनेको पाँचौँ नम्बरमा १०२ रन बनाएका कर्णाली याक्समा अनुबन्धित प्रियान्क पन्चाल रहेका छन् । उनले एक अर्धशतकसमेत प्रहार गरेका छन् ।
प्रतियोगितामा एक शतक, दश अर्धशतक
जारी प्रतियोगितामा हालसम्म एक शतक र दश अर्धशतक प्रहार भएका छन् । यसमा विदेशी खेलाडी नै अगाडि छन् । प्रतियोगिताको एकमात्र शतक कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाटले हिर्काएका छन् । उनले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक शतकीय इनिङ खेलेका थिए । लुम्बिनीविरुद्ध एक सय १४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे । उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटरसमेत हुन् ।
मार्क वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । उनीअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले एक सय चार रनको शतकीय इनिङ खेलेका थिए । यसक्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।
प्रतियोगितामा कुल १० अर्धशतक बने पनि नेपालबाट भने तीन ब्याटरले मात्रै एक इनिङमा ५० रन पूरा गरेका छन् । नेपालका कुशल भुर्तेल, लोकेश बम र आसिफ सेखले अर्धशतक बनाएका छन् । यसमध्ये पोखरा एभेन्जर्सका भुर्तेल लगातार दुई खेलमा अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटर हुन् ।
कुशलसँगै चितवन राइनोजका रवि बोपाराले पनि दुई अर्धशतक बनाएका छन् । यसबाहेक कर्णाली याक्सका प्रियाङ्क पन्चाल, विराटनगर किङ्ग्सका लोकेश बम र मार्टिन गप्टिल, सुदूरपश्चिम रोयल्सका जोस ब्रोन, हर्मित सिंह र जनकपुर बोल्ट्सका सेखले अर्धशतक बनाएका छन् ।
कीर्तिमानी टिमको स्कोर बनाउने विराटनगर, कम बनाउने कर्णाली
जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टिममा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध दुई सय २० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउने टिमको सूचीमा भने सुदूरपश्चिम छ । सुदूरले पनि पोखराविरुद्ध नै एक सय ९३ रन जोडेको थियो । जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा कर्णाली छ । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णाली ९४ रनमा समेटिएको थियो । उक्त स्कोर प्रतियोगिताकै कम हो ।