
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजले दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो ।
काठमाडौंले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १३५ रन बनाउँदै अलआउट भयो । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन जोडे । १८ बल खेलेका उनले ३ छक्का प्रहार गरे । दिलीप नाथले ३३ बलमा १ चौका र १ छक्का सहयोगमा २५ रन बनाए । डि आर्सी सर्टले ११ बलमा ३ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए । कप्तान रोहितकुमार पौडेल १६ बलमा ११ रन बनाएर आउट भए ।
बलिङमा काठमाडौंका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई-दुई तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनाएको थियो । काठमाडौंका लागि कप्तान करण केसीले अविजित ३४ रन बनाए । ११ बल खेलेका उनले ४ छक्का र १ चौका प्रहार गरे । आकाश त्रिपाठीले ३६ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाए भने सन्तोष यादवले १६ बलमा २ छक्काको सहयोगमा २६ रनको योगदान गरे ।
लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई-दुई विकेट लिए ।
चार खेल खेलिसकेको काठमाडौं दोस्रो जितसँगै ४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौं त्यसपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग पराजित भएको थियो ।
लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । एनपिएल अन्तर्गत बुधबार एक मात्र खेल हुँदैछ । अपराह्न ४ बजे हुने खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।