
काठमाडौं : आगामी वर्ष सन् २०२६ मा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘सी’मा परेको हो । नेपाल रहेको समूहमा दुई पटकको विश्वविजेता वेस्ट इन्डिज र इंग्ल्यान्डसँगै बंगलादेश र इटाली छन् ।
विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’मा भारत, पाकिस्ता, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया परेका छन् । समूह ‘बी’मा श्रीलंका, अस्ट्रेलिया, आयरल्यान्ड, जिम्बाबे र ओमान परेका छन् भने समूह ‘डी’मा न्युजिल्यान्ड, साउथ अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई परेका छन् ।
नेपालले इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र इंग्ल्यान्डबीचको खेल फेब्रुअरी ८ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल इटालीसँग खेल्नेछ । नेपाल र इटालीबीचको खेल फेब्रुअरी १२ मा हुनेछ ।
नेपालले आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल फेब्रुअरी १५ मा हुनेछ । यस्तै नेपालले समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल फेब्रुअरी १७ मा हुनेछ । नेपालका सबै खेल भारतको मुम्बईमा हुनेछ ।
नेपालले लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपालले सुरुमा २०१४ मा विश्वकप खेलेको थियो त्यसपछि एकैपट २०२४ मा विश्वकप खेलेको नेपालले पुनः २०२६ मा विश्वकप खेल्न लागेको हो ।
भारत र पाकिस्तानबीचको खेल भने श्रीलंकाको राजधानी कोलम्बोमा राखिएको छ । भारतमा हुने खेल मुम्बई, कोलकाता, चेन्नई, दिल्ली र अहमदावादमा हुनेछन् । श्रीलंकामा हुने खेल कोलम्बो र क्यान्डीमा हुनेछन् । अहमदावादमा फाइनल खेल हुनेछ । तर पाकिस्तानले फाइनलमा स्थान बनाए कोलोम्बोमा फाइनल खेल खेलाइनेछ ।
