
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनायो ।
चितवनका लागि रवि बोपराले अर्धशतकीय इनिङ खेले । बोपराले ३८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६५ रन बनाए । यस्तै सैफ जेबले ३० बलमा १ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । देव खनालले २२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए भने कप्तान कुशल मल्लले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ड डि लेंगेले समान दुई-दुई विकेट लिए भने शुभम रन्जनेले एक विकेट हात पारे ।