२०८२ मंसिर ११ गते बिहिवार / Nov 27 , 2025 , Thursday
२०८२ मंसिर ११ गते बिहिवार
Ads

वैदेशिक रोजगार व्यवसायी संघसमेतको सहयोगमा गौशाला प्रहरी भवन निर्माण

shivam cement
२०८२ मंसिर ११ गते ०६:२५
Shares
वैदेशिक रोजगार व्यवसायी संघसमेतको सहयोगमा गौशाला प्रहरी भवन निर्माण

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहितका सामाजिक तथा व्यावसायिक संस्थाहरूको सहयोगमा पुनर्निर्मित प्रहरी वृत्त गौशालाका भवनहरूको अनावरण तथा हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको प्रमुख आतिथ्यतामा बुधबार बिहान पुनर्निर्मित संरचनाको उद्घाटन गरिएको हो । सो समारोहलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक थापाले प्रतिकूल र संकटको अवस्थामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतका संस्थाले समाजसेवाको पुनीत कार्य गरेका कारण प्रहरीका लागि भवन तयार भएको बताए ।

समाजसेवी संस्थाहरूबाट तत्परताका साथ सहयोग भएको परिवेशलाई नेपाल प्रहरीले उच्च मूल्यांकन गरी निश्पक्ष रूपमा जनसेवा गर्नुपर्ने सन्देश ग्रहण गरेको उनले बताए । उनले भदौ २४ को क्षतिपछि संघको प्रतिनिधिमण्डलले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङलाई भेटेर प्रहरीलाई सहयोग गर्ने चाहना व्यक्त गरी सहयोगको सुरुवात गरेपछि समाजको अन्य पक्षबाट पनि सहयोग प्राप्त भई जलेका तथा तोडफोड भएका काठमाडौं उपत्यकाका १२९ प्रहरी कार्यालयमध्ये प्रहरी वृत गौशालाको मुख्य भवन, बालाजु, जनसेवा बाहेक सबै क्षेत्रका कार्यालय पुनर्निर्माण भएको बताए । उनले संघसहित सहयोग गर्ने सामाजिक संघसंस्था र वित्तीय संस्थाहरूप्रति आभार व्यक्त गरे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले भदौ २४ को घटनापछि शून्यता छाएर ‘प्रहरी छैन भने सुरक्षा पनि छैन’ भन्ने महसुस भएको र आजको दिन नै जिन्दगीको अन्तिम हो कि जस्तो डरलाग्दो अवस्थामा जिम्मेवारी सम्झेर क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि साथमा साथ, हातमा हात मिलाएको बताए । 

उनले व्यवसायीहरूबाट सहयोग जुटाएर प्रहरी वृत्त गौशालाको मुख्य भवन बनाउने जिम्मेवारी पनि सकेसम्म छिटो पूरा गर्ने प्रतिबद्धता जनाए । संघले प्रहरी वृत्त गौशालाको अपराध अनुसन्धान कक्ष र हिरासत कक्ष निर्माण गरेको छ भने मुख्य कार्यालय बनाउने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विमल होडा, वडा नं. ८ का वडा अध्यक्ष आशामान संगत, वडा नं. ९ का वडा अध्यक्ष रामजी भण्डारी, पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडिया, सामुदायिक प्रहरी सेवा केन्द्र चाबहिलका अध्यक्ष दीपक आचार्य, डियर वाक ग्रुपका अध्यक्ष हितेश कार्की, स्मार्ट पार्टी प्यालेस र अनुपम फुडल्यान्डलगायत संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष संगतलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा भवन निर्माण कार्यमा उल्लेखनीय सहयोग पुर्‍याउनेहरू सहयोगीलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रहरी वृत्त गौशालाका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले स्वागत मन्तव्य राखेको कार्यक्रम प्रहरी निरीक्षक राजाराम खतिवडाले सञ्चालन गरेका थिए ।

ADV

सम्बन्धित खबर