
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४२ रन मात्रै बनाउन सक्यो ।
काठमाडौंका लागि जोन सिमसनले अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६० रन बनाए । मिलिन्द कुमारले ४३ बलमा ५ चौकाको सहयोगमा ३८ रन बनाए । काठमाडौंका ओपनरद्वय वेन चार्ल्सवर्थ १३ र आकाश त्रिपाठी ४ रनमा आउट भए ।
चितवनका लागि सोहेल तन्विरले चार विकेट लिए । रञ्जित कुमार र कमलसिंह ऐरीले समान दुई-दुई विकेट लिए ।