
दमास्कस(सिरिया) : दक्षिणी सिरियाको बेइट जिन गाउँमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ । मृतकमध्ये महिला र बालबालिका पनि रहेको उल्लेख गरिएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार धेरै पीडितहरू भग्नावशेषमुनि फसिरहेका छन्, र घटनापछि दर्जनौँ परिवार गाउँ छोडेर नजिकैका सुरक्षित स्थानतर्फ भागेका छन् । इजरायली कारबाहीमा ६ जना सिरियाली सैनिक घाइते भएका छन् ।
इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा लेबनानी इस्लामवादी समूह जामा इस्लामिया का संदिग्धहरूलाई नियन्त्रणमा लिन चलाइएको विशेष अपरेसनका क्रममा रातारात कम्तीमा ६ जना आफ्ना सैनिक घाइते भएको जनाएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर बताइएको छ । सेनाले उक्त समूहले दक्षिणी सिरियामा बसेर इजरायली नागरिकहरूविरुद्ध हमला गर्ने तयारी गरिरहेको आरोप लगाएको छ ।
स्थानीय अधिकारी अब्दुल रहमान अल–हम्रावीलाई उद्धृत गर्दै एएफपीले दिएको जानकारी अनुसार, इजरायली सैनिकहरूले बेइट जिनमा तीन जना युवकलाई पक्राउ गर्न छापा मार्दा स्थानीय बासिन्दासँग झडप भएको थियो । झडपपछि इजरायली सेनाले तोपखाना र ड्रोन प्रयोग गर्दै गाउँ वरपर गोलाबारी गरेको बताइएको छ ।
डिसेम्बर २०२४ मा सिरियाली नेता बशर अल–असदको पतन र दमास्कसमा नयाँ इस्लामवादी नेतृत्व आएपछि इजरायलले सिरियाभित्र सयौँ सैन्य कारबाही गरिरहेको सरकारी स्रोतले जनाएको छ । –रासस/एएफपी