
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा सुरु गरिएको बताएको छ । मन्त्रालयले भाइबर, इमो र ह्वाटसएपमार्फत मिर्गौला रोग र अन्य रोगसम्बन्धी परामर्श २४सै घण्टा उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदबहाली गरेको दिन वैदेशिक रोजगारीका क्रममा हुने कामदारको मृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने बताएकी थिइन् ।
प्रवक्ता बुढाथोकीका अनुसार मिर्गौला रोगसम्बन्धी सेवाका लागि ००९७७ ९७६३४९०९०० नम्बरमा भाइबर, इमो वा ह्वाटसएपमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । मिर्गौलासम्बन्धी रोगको परामर्श सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अन्य स्वास्थ्य सेवासम्बन्धी परामर्श सेवा वीर अस्पतालबाट २४सै घण्टा उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
अन्य स्वास्थ्य सेवाका लागि ००९७७ ९८५१३४५७०१ र ००९७७ ९८५१३४५७०२ नम्बरको भाइबर र ह्वाटसएपमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बुढाथोकीले विदेशमा धेरै नेपाली बिरामी हुँदा समस्या पर्ने भएकाले परामर्श सेवा सुरु गरिएको जानकारी दिए ।
स्वास्थ्यमन्त्री शर्माले वैदेशिक रोजगारका क्रममा हुने मृत्युको संख्या ठुलो रहेकोे भन्दै त्यसलाई घटाउन वैदेशिक रोजगारमा जानु पहिले गरिने स्वास्थ्य परीक्षण र स्वास्थ्य सूचना तथा जानकारी पर्याप्त मात्रामा हुनुपर्नेमा जोड दिएकी छन् ।
खासगरी कार्यस्थल जोखिमपूर्ण रहेको तथा अत्यधिक तातो र गर्मीमा काम गर्दा वैदेशिक रोजगारका क्रममा कम उमेरमा हुने मृत्यु बढेको छ । स्वास्थ्यमन्त्री शर्माले अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सूचना डेस्क स्थापनासहित टेलिमेडिसिनको विषयमा काम गर्नेसमेत बताएकी छन् ।
विदेशस्थित नेपाली दूतावास र नियोगहरूले पनि नेपाली कामदारको स्वास्थ्य सुरक्षाका लागि स्थानीय अस्पतालहरूसँगको सहकार्य बलियो बनाउनुपर्ने भएपनि जनशक्तिको अभाव भन्दै नेपाली दूतावासहरूले सक्रियता देखाएका छैनन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको मृत्युको संख्या अस्वाभाविक रूपमा बढेपछि करिब ५ वर्षअघि नै स्वास्थ्य सहचारी राख्नुपर्ने सुझाव आएको भएपनि कार्यान्वयन गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार विदेश जाने क्रममा श्रमिकलाई आवश्यक स्वास्थ्यसम्बन्धी जानकारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न स्थानमा सचेतनामूलक सन्देश राखिएको छ । त्यसले क्रमिक रूपमा स्वास्थ्य चेतनाको अभिवृद्धि गर्ने आंकलन गरिएको छ ।
अस्वस्थ खानपिन, पर्याप्त पिउने पानीको अभावमा नेपाली कामदारको मिर्गौला खराब हुने क्रम बढ्दा त्यसले राष्ट्रिय स्तरमै नेपाली कामदारको स्वास्थ्य चिन्ता बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारका लागि ३१ प्रकारका स्वास्थ्य परीक्षण गर्न कार्यविधि नै जारी गरेको छ ।