
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई रोमाञ्चक रूपमा पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ ।
१५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा विजयी भयो । कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए भने निरोधन डिक्वेलासँग उनले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी बाँधे । डिक्वेला ३७ रनमा आउट भए । सन्दीप जोरा २५ रनमा अविजित रहे ।
पोखराका विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुई–दुई विकेट तथा जिम्मी निशमले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ५ विकेटका साटो १५० रन बनाएको थियो । ओपनर एडम वासिङटनले ६३ बलमा ८१ रनको उत्कृष्ट पारी खेले भने जिम्मी निशमले ३२ बलमा ५१ रनमा अविजित रहँदै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए ।
लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । लगातार तीन हारको दबाबमा रहेको लुम्बिनीले अन्ततः जित हात पारेको छ भने पोखराले प्रतियोगितामा तेस्रो हार भोगेको छ ।