
क्वालालम्पुर, मलेसिया : मलेसियास्थित नेपाली दूतावासले मोबाइलमा अनलाइनमार्फत खेलिने गेम (जुवा)बाट धेरै नेपाली कामदार ठगीमा परेको भन्दै अनलाइनमार्फत खेलिने गेमसम्बन्धी एप्स तुरुन्तै हटाउन नेपाली श्रमिकहरूलाई आग्रह गरेको छ ।
मलेसियामा टोटो म्यागनमलगायतको अनलाइन गेमबाट ठगी व्यापक बनेको छ । नेपाली दूतावासले मोबाइलमा टोटो म्यागनम डाउनलोड गरेर राखेको भेटिए प्रहरीले कारबाहीको दायरामा ल्याउने बताएको छ । कतिपय नेपाली उक्त एप्स डाउनलोड गरेका कारण जेल सजायमा परेको भन्दै दूतावासले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
टोटो म्यागनममा खरिदकर्तालाई १ देखि ४९ सम्मका कम्तीमा ६ वटा अंक छानेर किन्ने र कोरिएका ६ वटा अंक र थप एउटा अंक पर्ने खरिदकर्तालाई नगद पुरस्कार दिने भन्दै टिकट बेचेर ठगी गर्ने गरिएको बताइन्छ । मलेसियामा म्याग्नम ४डी, टोटो ४डी, मलेसिया टोटो ६डी, टोटो स्विप ४डी लगायतका एप्सहरू ठगीका लागि बद्नाम मानिन्छन् ।
मलेसियामा नेपालबाट भर्खरै पुगेका सोझा कामदार लोट्टो र क्यासिनोको कुलतमा पर्ने प्रवृत्ति रहेकोे नेपाली दूतावासले बताएको छ ।
त्यस्तै मलेसियामा नयाँ कामदारको बैंक खाता अनलाइन जुवा जस्ता स्क्याममा दुरुपयोग भएको पाइएको भन्दै दूतावासले आफ्नो बैंक खाता र पासवर्डको जानकारी सँगै एउटै कोठामा बस्ने साथीलाई पनि नदिन आग्रह गरेकोे छ ।
छोटो समयमा मिहिनेतबिना नै पैसा कमाउने लोभमा युवाहरू जुवाको दुष्चक्रमा फस्ने गरेका छन् । सुरुमा केही रकम जितेर हौसिने र पछि बढी रकमको लोभमा ठुलो रकम दाउमा लगाउँदा महिनाभरको पारिश्रमिकभन्दा बढी रकम क्षणभरमा सकाएर बिचल्लीमा पर्ने गरेको बताइन्छ ।