२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रूस–युक्रेन शान्ति वार्ताका लागि अमेरिकी पहलमा तीव्रता   

shivam cement
२०८२ मंसिर १९ गते १८:११
Shares
रूस–युक्रेन शान्ति वार्ताका लागि अमेरिकी पहलमा तीव्रता   

किएभ : रूससँगको शान्ति प्रयासमा कुनै ठोस प्रगति नभएको मस्कोको संकेतपछि युक्रेनी प्रतिनिधिमण्डलले अमेरिकी वार्ताकारहरूसँग शुक्रबार पनि वार्ता जारी राख्ने तयारी गरेको छ । युक्रेनका राष्ट्रिय सुरक्षा सचिव रुस्टेम उमेरोभ र जनरल स्टाफका प्रमुख एन्ड्री हेनाटोभको नेतृत्वमा रहेको टोली विशेष दूत स्टिभ विटकफको नेतृत्वमा रहेको अमेरिकी पक्षसँग पुनः छलफलमा बस्दैछ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक्समा उक्त छलफलको उद्देश्य मस्कोमा हालसालै भएका वार्ताका सबै विवरणको स्पष्टता प्राप्त गर्नु र कूटनीतिक प्रक्रियामा युक्रेनको चासो प्रमुख रूपमा सुरक्षित गर्नुरहेको बताए । उनले युक्रेन ‘कुनै पनि सम्भावित घटनाक्रम’ का लागि तयार रहेको र सम्मानजनक शान्ति स्थापनाका लागि सबै साझेदारसँग रचनात्मक रूपमा काम गर्ने प्रतिवद्धता दोहोर्‍याए । 

जेलेन्स्कीले भने, ‘हाम्रो काम भनेको मस्कोमा के भनिएको थियो र पुटिनले युद्धलाई लम्ब्याउन वा युक्रेनमाथि दबाब सिर्जना गर्न कुन–कुन बहाना प्रयोग गर्दै हुनुहुन्छ भन्नेबारे पूर्ण जानकारी हासिल गर्नु हो । सम्मानजनक शान्तिले मात्र वास्तविक सुरक्षा दिन्छ र यसका लागि अन्तर्राष्ट्रिय समर्थन निरन्तर चाहिन्छ ।’

यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी दूत विटकफसँग करीब पाँच घण्टा लामो वार्ता गरेका थिए । तर, क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभका अनुसार संवेदनशील क्षेत्रीय मुद्दामा कुनै सहमति हुन सकेन ।

इन्डिया टुडेसँगको अन्तर्वार्तामा पुटिनले युक्रेनको सुरक्षा रूसको सुरक्षा चासोमाथि आधारित हुनैपर्ने र मस्कोले आफ्नो ‘लालरेखा’ मा सम्झौता गर्न नसक्ने स्पष्ट पारे । नाटो विस्तारका विषयमा उनले पश्चिमी शक्तिहरूमाथि आरोप लगाउँदै युक्रेनलाई नाटोमा तान्ने प्रयासले रूसको सुरक्षा गम्भीर जोखिममा पारेको बताए । 

राष्ट्रपति जेलेन्स्कीबारे पुटिनले टिप्पणी गर्दै भने, ‘उहाँ शान्तिको वाचा गर्दै सत्तामा आउनुभयो, तर अहिले कट्टर राष्ट्रवादी शक्तिहरूको हितलाई प्राथमिकता दिइरहनुभएको छ ।’ पुटिनले वर्तमान युक्रेनी नेतृत्वको दृष्टिकोणलाई ‘चरम राष्ट्रवादीतर्फ उन्मुख’ भन्दै नव–नाजीवादसँग तुलना गरे ।

पुटिनले सन् २०२२ मा युक्रेनसँग शान्ति वार्ताको प्रयास भएको दाबी गर्दै अहिले पनि वार्ताको ढोका खुला रहेको तर रुसको सुरक्षालाई कमजोर पार्ने सर्त स्वीकार्य नहुने पुनः जोड दिए । ‘युक्रेनलाई आफ्नै सुरक्षा प्रणाली छान्ने अधिकार छ, तर त्यो अधिकार रुसको खर्चमा प्रयोग गरियो भने स्वीकार्य हुँदैन,’ उनले भने । 

उनले विगतका वाचा सम्झँदै भने, ‘हामीले असामान्य केही मागेका छैनौं । सन् १९९० को दशकमा नै पूर्वतर्फ कुनै विस्तार नहुने आश्वासन दिइएको थियो, तर अन्ततः युक्रेनलाई समेट्ने प्रयाससम्म त्यसपछि निरन्तर विस्तार हुँदै गइरह्यो ।’

पुटिनले युक्रेनको राज्य सार्वभौमसत्ताको घोषणापत्रले देशलाई ‘तटस्थ राज्य’ को हैसियत दिएको उल्लेख गर्दै किएभले आफ्नै आधारभूत प्रतिबद्धताबाट विचलन गरेको आरोप लगाए । युक्रेनको २८–बुँदे शान्ति प्रस्तावबारे सोधिएको प्रश्नमा पुटिनले ती २८ बुँदा पछि २७ मा रूपान्तरण गरी चार छुट्टाछुट्टै प्याकेजमा विभाजन गरिएकाले छलफल ती बुँदामै सीमित रहेको बताए । ‘नयाँ केही होइन, मूल संरचना उही २७ बुँदामै आधारित छ,’ उनले निष्कर्ष प्रस्तुत गरे । –रासस/एएनआई

ताजा खबर

सम्बन्धित खबर