– अच्युतमान सिंह प्रधान ‘उत्सुक’
उसँग केवल बस्न एउटा सानो घर र थोरै पाखो बारी मात्र थियो । जसबाट जेनतेन एक छाक खान मात्र पुग्थ्यो । गरिबीको कारण अनि आफ्नो बिहे गर्दा साहुसँग लिएको ऋण तिर्न आफ्नो छोरा विदेश जान बाध्य भएको थियो । हुन पनि हो आफ्नो गाउँ, आफ्नो बृद्ध बाबु–आमा, नवविवाहित पत्नीलाई छोडि जान कसलाई रहर हुन्छ र ? बिहे भएको साल नै नवविवाहित पत्नीसँग धित मरुन्जेल बस्नसमेत नपाई रोजगारीको लागि छोरा खाडि मुलुकमा गएको थियो ।
हुनत छोराले अहिले बिहे गर्दिन । केही समय विदेशमा गएर केही कमाएर फर्के पछि मात्र बिहे गर्छु भनेर आफ्नो बाबु–आमासँग कति जोड गरेको थियो । तर बाबु आमाको ढिपीसँग छोराको केही लागेन । “दुवै वृद्ध वृद्धा भईसके, विदेश जानु परे पनि बुहारी भित्राएर मात्र जा । त गए पछि हामीलाई कस्ले स्याहार सुसार गर्छन् ? कमसे कम बिहे गरे पछि त हाम्रो सहारा कोही हुन्छ । हामीलाई पनि नाती खेलाउने रहर छ नि !” यस्तै बाबु आमाको गनगनको अगाडि बिचरा छोराको केही लागेन । आफ्नो बाबु आमाको मन राख्न भनेर पनि छोराले बिहे गरे । आज हामीले गर्दा छोराले यस संसारबाट बिदा लिनु पर्यो, बुहारी पनि विधवा भईन्, नाती पनि टुहुरो भयो ।
छोरा गएको पनि पाच बर्ष मात्र पुरा भएको थियो । यसबिच छोरासँग केवल एक पटक मात्र भेट भएको थियो । त्यो पनि नाति जन्मेको साल एक महिनाको लागि मात्र छोरा बिदामा घर आएको बखत । छोराले विदेशबाट दुःख गरेर कमाएर पठाएको पैसाले साहुको ऋण समय मै चुक्ता गरि केही रकम पछिको लागि जोगाएर राखेको पनि थियो ।
एक महिना अघि मात्र छोराले खुशी भई फोनमा अब सधैँको लागि स्वदेश फर्कने, अनि गाउँ मै आफ्नै परिवारसँग बसेर केही व्यवसाय गर्ने कुरो भनेको थियो । यो कुरो सुनेर सबै कति खुशी भएको थियो । बुहारीले पनि “अब हाम्रो पनि सुखको दिन आउने भयो, हामी सबै सँगै बस्न पाउने भयो” भनि कति खुशी व्यक्त गरेकी थिइन । सानो नाती पनि “अब बाबा आउने भयो” भनेर तोती बोली बोलेर कति खुशी भई उफ्री उफ्री नाचेको थियो । विदेश गएको सद्धै छोरा आज लाश भएर स्वदेश आयो । हे दैब यो के अनर्थ भयो ? हाम्रो बुढेसकालको सहारा निर्दय दैबले चुडाएर लग्यो । बरु हामी दुईलाई लगेको भए हुन्थ्यो नि । यो के उल्टो भयो ? भनि दुई वृद्ध वृद्धा काठमाडौंस्थित अन्तराष्ट्रिय बिमानस्थल बाहिर विदेशबाट आएको छोराको लाश भएको काठको बाकसलाई च्यापेर बिलौना गरिरहेको थियो । साथमा एउटी युवती दुधे बालकलाई च्यापेर सुक्क सुक्क रोइरहेकी थिइन । त्यस्तै दुधे बालक पनि चिच्याएर रोइरहेको थियो । आफ्नो आफन्तलाई लिन आएका तथा विदेश जान पु¥याउन आएकाहरुको भिडले उनीहरुलाई घेरिएको थियो । सबै केवल मुकदर्शक बनेर उनिहरुले बिलौना गरेको सुनिरहेको अनि हेरिरहेको थियो । तर, कसैले पनि उनीहरुलाई सम्झाउन सकि रहेको थिएन । यस्तो ह्रदयबिदारक दृश्य देखेर भिडमा दुःखी नभएको अनि आँखा नरसाएको पनि कसैको थिएन ।
यो भिडमा कतिका सन्तान रोजगारीको लागि विदेश जानको लागि पु¥याउन आएकाहरु तथा बिदावारी दिन आएका थिए होलान् ? अनि ति अभिभाबकहरुको मनस्थिती कस्तो भए होलान् ?
यो सबै हामी जस्तो गरीब देशका जनताहरुको लागि, हाम्रो जस्तो गरीब देशको लागि बिडम्बना पनि हो । यस्तो धटना दोहरिन नदिनको लागि स्वदेश मै रोजगारी सिर्जना गरि युवावर्गलाई विदेशीनुबाट रोक्न सक्नु पर्दछ । नत्र यस्तो घटन सधैँ दोहोरी नै रहन्छ । यसबारे सत्ता अनि कुर्सीमा बसेकाहरुको ध्यान जाने हो कहिले ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies