
एथेन्स : ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुंगामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जनाको उद्धार गरिएको छ ।
ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुंगा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुंगाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार लामो समयसम्म खराब मौसममा डुंगामा खुला रहँदा, खाना नपाउँदा र चिसोको असरले उनीहरूको मृत्यु भएको हुन सक्ने बताइएको छ ।
उद्धार भएका दुई व्यक्ति अधिकारीहरूलाई बताएअनुसार, खराब मौसमका कारण उनीहरू घण्टौंसम्म सुरक्षित स्थान नपाई संघर्ष गर्दै थिए । ग्रीस तटरक्षकका अनुसार मृतक डुंगामा फेला पर्नुअघि एक दिनभन्दा बढी समयदेखि मृतावस्थामा थिए ।
उक्त घटनाबारे ग्रीसका अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । –रासस/सिन्ह्वा