२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

एनपिएलको लिग चरण सम्पन्न, कर्णालीसँग पराजित भएसँगै साबिक विजेता जनकपुर पुछारमा

shivam cement
२०८२ मंसिर २१ गते १९:४०
Shares
एनपिएलको लिग चरण सम्पन्न, कर्णालीसँग पराजित भएसँगै साबिक विजेता जनकपुर पुछारमा

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरण सम्पन्न भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । जनकपुरविरुद्ध कर्णालीले ३ रनको रोमाञ्चक जित निकाल्यो ।

यससँगै ७ खेलमध्ये ६ खेलमा हार व्यहोरेको साबिक विजेता जनकपुर दुई अंकसहित अंक तालिकाको पुछारमा रहेको छ । अन्तिम खेल जितेको कर्णाली भने ७ खेलमा ५ मा हार, २ मा जित निकाल्दै ४ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

अन्तिम खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रनमात्र बनाउन सक्यो ।

जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ३९ बलमा १ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५१ रन बनाए । संगीथ कुरले ३२ बलमा २५ रन बनाए भने जान निकोल लफ्टी इटोन १३ रनमा नटआउट रहे । ओपनर माज सदाकत १२ रन बनाए । कर्णालीका लागि विलयम बोसिस्टोले दुई तथा मार्क बोसिस्टो, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर इमरान शेखले ३२ बलमा १ चौका र १ छक्कको सहयोगमा सर्वाधिक ३३ रन बनाए ।

गुल्सन झाले २० बलमा १९ जोडे भने कप्तान सोमपाल कामीले १० बलमा १ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए । प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाए । जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले दुई-दुई तथा संगीथ कुरे, अनिल साह र माज सदाकतले समान एक-एक विकेट लिए ।

लिग चरण सम्पन्न भएपछि अंक तालिकामा सुदूरपश्चिम रोयल्स ७ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । विराटनगर किंग्स ५ खेलमा जित निकाल्दै १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने ५ खेलमा नै जित निकालेर १० अंक जोडेको काठमाडौं गोर्खाज रनरेटका आधारमा तेस्रो स्थानमा रह्यो । लुम्बिनी ४ खेलमा जित निकाल्दै ९ अंक जोडेर तालिकाको चौथो स्थानमा रह्यो । तालिकाको शीर्ष चारमा रहेका यी चार टोली प्लेअफमा पुगेका छन् ।

३ खेलमा जित निकालेर ६ अंक जोडेको पोखरा एभेन्जर्स पाँचौ भयो । कर्णाली ४ अंकसहित छैटौं, चितवन राइनोज ४ अंकसहित सातौं र जनकपुर बोल्ट्स २ अंकसहित आठौं भयो ।

अब मंगलबार हुने पहिलो क्वालिफायरमा शीर्ष दुई टोली सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ।  यो खेलको विजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

बुधबार काठमाडौं र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ । जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा स्थान बनाउने छ ।

 

सम्बन्धित खबर