२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

क्रिसा बाँकेको १६औं रनिङ शिल्ड प्रतियोगिता सुरु

shivam cement
२०८२ मंसिर २१ गते १९:५२
Shares
क्रिसा बाँकेको १६औं रनिङ शिल्ड प्रतियोगिता सुरु

कोहलपुर : कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरूको साझा संगठन क्रिसा (क्रिसा बाँके)को आयोजनामा १६औं रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि सुरु भएको छ ।

आयोजित प्रभातफेरि कोहलपुर नगरपालिका–साझाचोकबाट बिहान १० बजे सुरु भई न्युरोड हुँदै खुला मैदान पुगेको थियो । प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिताको औपचारिक उद्घाटन गरे । कार्यक्रम क्रिसा बाँकेका अध्यक्ष वेगम चन्दको सभापतित्वमा सम्पन्न भएको हो ।

कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका २३ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । कार्यक्रमका क्रममा क्रिसाका संस्थापक स्व. टिकाराम सुवेदी र नेत्रबहादुर चन्दलाई प्रमुख अतिथि र सभापतिले तस्बिरमा माल्यार्पण गरेर सम्मान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत आयोजित मार्चपासमा जनज्योति पब्लिक हाई स्कुल (कोहलपुर–२) प्रथम, वेस्टर्न इएम स्कुल (कोहलपुर–५) द्वितीय र ग्रिन पिस विद्यालय (कोहलपुर–१२) तृतीय घोषित भए ।

उद्घाटन समारोहमा नगर प्रमुख आचार्यले क्रिसाले स्थानीय तहसँग नीतिगत तथा कार्यक्रमगत समन्वय गर्दै आएको भन्दै प्रशंसा गरे ।

उनले खेलकुद सफल बनाउन कोहलपुर नगरपालिकाले आर्थिक, भौतिक, नैतिक तथा आवश्यक थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

क्रिसा बाँकेका अध्यक्ष वेगम चन्दले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । उनले खेलकुद सफल बनाउन संस्थापक, प्रशिक्षक, शिक्षक, विद्यार्थी तथा सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । प्रतियोगिता मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्मा, कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष विरेन्द्र कुमार शाह, वडा नं. ११ का अध्यक्ष कल्पना अधिकारी, वडा नं. ८ का अध्यक्ष लालबहादुर राना, वडा नं. १ का केन्द्रीय सदस्य श्यामबहादुर कुँवर, लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेतलगायत राजनीतिक दलका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम क्रिसा बाँकेका सचिव प्रकाश मल्लले सञ्चालन गरेका थिए । प्रतियोगिताको पहिलो दिन १०० मिटर दौड (मावि तथा आवि) सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर