
बर्दिया : बर्दिया स्कुल कप क्रिकेट–२०८२ को उद्घाटन खेलमा सनराइज बोर्डिङ स्कुल गुलरिया विजयी भएको छ । जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा मङ्सिर २१ गते भएको उद्घाटन खेलमा सनराइज बोर्डिङले जनज्योति बोर्डिङ स्कुल गुलरियालाई ४१ रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको सनराइजले २० ओभरमा ८ विकेट गुमाएर १६० रनको चुनौतीपूर्ण योगफल बनाएको थियो । टोलीका लागि आयुष यादवले २१ बलमा २८ रन, सम्राट बिष्टले ४२ बलमा २८ रन र सक्षम बुढाथोकीले १२ बलमा १० रन जोडे ।
बलिङतर्फ जनज्योतिको हार्दिक कडेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए भने प्रज्वलले पनि ४ ओभरमा नौ रन दिँदै दुई विकेट हात पारे ।

सो लक्ष्य पछ्याएको जनज्योति बोर्डिङ स्कुल २० ओभरमा ११९ रनमै समेटियो । जनज्योतिको ब्याटिङमा सजल विकले ३४ बलमा २७ रन, विवेक यादवले १५ बलमा १८ रन र आलोक यादवले १५ बलमा १७ रन योगदान दिए ।
सनराइजका बलर निश्चल चौधरीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिएकै थिए भने विपिन चौधरीले १२ रन खर्चेर एक विकेट लिए । भूपेन्द्र थापाले पनि उल्लेखनीय प्रदर्शन गर्दै २ रन खर्चेर १ विकेट निकाल्न सफल भए ।
आजको खेलमा सनराइजका आयुष यादव ‘म्यान अफ द म्याच’ घोषित भए भने ‘गेम चेन्ज अफ द म्याच’ सिमोन परियार रहेका आयोजकले जानकारी दिएको छ ।
जिल्ला क्रिकेट संघ बर्दियाका पूर्व अध्यक्ष स्व. कृष्णप्रसाद बस्याल ‘राकेश’ को स्मृतिमा आयोजित प्रतियोगिता मङ्सिर २१ देखि २८ गतेसम्म चल्नेछ । प्रतियोगितामा बर्दिया जिल्लाका १० विद्यालयको सहभागिता रहेको संयोजक सिद्धार्थ श्रेष्ठले बताए ।
सोमबारको खेल बिहान ९ बजे जनता मावि बारबर्दिया र नेपाल राष्ट्रिय मावि बाँसगढीबीच तथा दिउँसो १ बजे शम्भुशरण मावि र महाकवि माविबीच हुने आयोजकले जनाएको छ ।
