
काठमाडौं : भारत र रुसबीच ठुलो संख्यामा भारतीय कामदार लैजाने विषयमा सम्झौता भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गत साता सम्पन्न बहुप्रतीक्षित भारत भ्रमणको अवसरमा जनशक्ति गतिशीलता सम्झौतामा हस्ताक्षर गरिएको छ ।
उक्त सम्झौतापछि भारतीय कामदारहरूका लागि रुसमा सीपमा आधारित रोजगारीको अवसरका लागि नयाँ बाटो खुलेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
भारत सरकारले रुसी नागरिकहरूका लागि ३० दिनको निःशुल्क भिसाको घोषणा गरेको छ । रुसमा बढ्दो निर्माण क्षेत्र, तेल, ग्यास, आइटी र ठुला उद्योग क्षेत्रहरूमा जनशक्तिको अभाव देखिएको छ । भारतसँगको सम्झौतापछि रुसले प्रमुख श्रम समस्या समाधान गर्ने बताएको छ ।
वर्क इन सरिया फेड जस्ता एजेन्सीहरूमार्फत वर्क पर्मिट र सम्झौताहरूको सावधानीपूर्वक अनुगमन गरिने बताइएको छ । युक्रेन द्वन्द्व र औद्योगिक रोजगारीमा स्थानीय चासोको अभावका कारण रुसलाई विदेशी कामदार चाहिएको र भारतले आफ्ना कामदारहरू पठाउन चाहेपछि सम्झौता भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
रुसलाई सन् २०३० सम्ममा सैन्य–औद्योगिक परिसर, निर्माण, तेल, ग्यास, आइटी र स्वास्थ्य सेवामा ३.१ मिलियन विदेशी कामदारको आवश्यकता पर्ने अनुमान गरिएको छ । भारतीय कामदारहरूको मुख्यगरी निर्माण परियोजनाहरूका अतिरिक्त इन्जिनियरिङ, आइटी, शिक्षा र प्राविधिक क्षेत्रमा काम गर्ने बताइएको छ ।
सेमी कन्डक्टर भनिने विद्युत् र इलेक्ट्रोनिक्स, पेट्रोलियम, रसायन क्षेत्रमा पनि भारतीय कामदारका लागि अवसर सिर्जना भएको बताइएको छ । नेपाल खाडी मुलुक र मलेसिया जस्ता परम्परागत श्रम गन्तव्यमा कामदार पठाउन सीमित देखिन्छ । तर भारतले यी परम्परागत गन्तव्यसहित ताइवान, इजरायल र रुस जस्ता मुलुकमा कामदार पठाउन तदारुकता देखाइरहेको छ । रुसका मस्को, सेन्ट पिटर्सबर्ग र अन्य औद्योगिक क्षेत्रमा विदेशी कामदारको उच्च माग रहेको बताइएको छ ।