२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

म्यानमारको स्क्यामिङ सेन्टरबाट ४७ नेपालीको उद्धार

shivam cement
२०८२ मंसिर २५ गते ०६:१५
Shares
म्यानमारको स्क्यामिङ सेन्टरबाट ४७ नेपालीको उद्धार

काठमाडौं : बैंककस्थित नेपाली दूतावासले वैदेशिक रोजगारका नाममा म्यानमारको म्यावाडी क्षेत्रम अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र पुर्‍याइएका ४७ नेपाली कामदारको उद्धार गरेको छ । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो ।

नेपाली दूतावासका अनुसार बन्धक बनाइ टेलिकम ठगी तथा अनलाइन जुवा खेलाउने काममा  लगाइएका उनीहरूलाई विभिन्न प्रलोभनमा पारी विभिन्न माध्यमबाट त्यहाँ पुर्‍याइएको थियो । उनीहरूलाई म्यानमारमा अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टोलगायतका काममा लगाइएको थियो । नेपाली दूतावासले थाइल्यान्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी उनीहरूलाई बुधबारको नेपाल एयरलाइन्सको उडान नं. ४०२ मार्फत नेपाल फर्काएको छ ।

उद्धार गरिएका व्यक्तिहरूमा २६ जिल्लाका ४५ जना पुरुष तथा २ जना महिला छन् । नेपाली दूतावासले चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुम जिल्लाका एक–एक जना रहेकोे बताएको छ ।

त्यसैगरी दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँ जिल्लाका दुई–दुई जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका तीन–तीन जना र झापा जिल्लाका ५ जना रहेको बताएको छ ।

१७ वर्षदेखि ४१ वर्ष उमेर समूहका उनीहरूको शैक्षिक योग्यता प्राय प्लस टु पास रहेको छ । कतिपय सूचना प्रविधिसम्बन्धी अध्ययन गरेकासमेत रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई स्क्यामिङ केन्द्रहरूमा दुई देखि १८ महिनासम्म जबरजस्ती काममा लगाइएको देखिएको पनि नेपाली दूतावासले जनाएको छ ।

उद्धार गरिएका व्यक्तिहरूले आफूहरू विभिन्न व्यक्ति, साथीभाइ तथा अनलाइन साथी, पबजीलगायतका अनलाइन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापन आदिको सम्पर्कबाट त्यहाँ पुगेको बताएका छन् । कोही भारतमा अध्ययन गर्दाको साथीमार्फत, कोही दुबईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएको साथीमार्फत समेत त्यहाँ पुगेका छन् ।

ह्वाट्सएप, भाइबर, मेसेन्जर, टिकटक, टेलिग्रामलगायतका सामाजिक सञ्जालबाट काठमाडौंमा घण्टाको राम्रो रकम कमाइन्छ भनी रोजगारीको प्रस्ताव आउने, त्यसमा रेस्पोन्स गरेपछि थप सम्पर्क हुँदै जाने र केही समयपछि भ्रमणका लागि आकर्षित मानिने मुलुकमा अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसिप्सनिस्ट आदिको काममा एक लाखभन्दा धेरै तलब हुने भनेर प्रलोभनमा पार्ने गरेको देखिएको पनि नेपाली दूतावासले बताएको छ । 

स्क्यामिङ केन्द्रहरूमा पुगेपछि उनीहरूलाई केही महिनासम्म आरामदायी किसिमले काममा लगाउने, केही समयपछि कामको निश्चित लक्ष्य दिइने र सो पूरा गर्न नसके अन्य कुनै अपराधको दोष लगाएर चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, बन्धक बनाइ परिवारबाट फिरौती माग गर्ने, जेल पठाउने, हत्या गर्नेलगायतका यातना समेत दिने गरेको देखिएको पनि नेपाली दूतावासको भनाइ छ । स्क्यामिङ केन्द्रबाट निस्किन खोजे उनीहरूको सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म सो स्थानबाट छुटकारा नदिने गरेको देखिएको नेपाली दूतावासले बताएको छ ।

दूतावासका अनुसार अनलाइन स्क्यामिङ केन्द्रमा अझै कति नेपाली छन् भन्ने यकिन भइसकेको छैन । यसअघि गत कात्तिक १९ गते पनि १४ जना नेपालीलाई म्यानमारबाट बैंकक ल्याएर नेपाल पठाइएको थियो । दूतावासका एक अधिकारीका अनुसार म्यानमारको सेनाले छापा मारेर नेपाली श्रमिकहरूलाई ती केन्द्रहरूबाट उद्धार गरेको हो ।

दूतावासले मंगलबार थाइल्यान्डको टाक प्रान्तस्थित मेसोट अध्यागमन कार्यालयबाट उनीहरूको जिम्मा लिएर नेपाल पठाएको थियो । नेपालीलाई लिन दूतावासको टोली थाइल्यान्ड–म्यानमार सीमा क्षेत्रमा पुगेको थियो । म्यानमारको सूचना मन्त्रालयले मंगलबार ६ देशका १ सय २३ जना विदेशी नागरिकको उद्धार गरिएको बताएको छ ।

सम्बन्धित खबर