२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

एनपिएलले जगाएको आशा

shivam cement
दिवाकर अधिकारी
२०८२ मंसिर २८ गते ०६:२०
Shares
एनपिएलले जगाएको आशा

काठमाडौं : लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

यसले एकातिर नेपालमा क्रिकेटको सम्भावनाको विषयलाई थप बलियो र उत्साहित त बनाएको छ नै, अर्कोतिर नेपाल सुरक्षित छ भन्ने सन्देश पनि प्रवाह गरेको छ ।

२३ र २४ भदौमा जेनजी पुस्ताले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए । राजीनामा दिएर मात्रै सुख पाएनन्, उनीसहितका शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा लैजानुपरेको थियो । 

प्रतिनिधि सभाबाटै सरकार बन्ने अवस्था बनेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार बन्यो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहित देशभरका सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भए । निजी सम्पत्तिमा समेत क्षति पुर्‍याउने कार्य भयो भने कारागारबाट कैदीहरूसमेत भागे ।

यस घटनाले केही देशले नेपालीलाई भिसा दिनै रोके भने केहीले कडाइ गरे । केही देशले नेपाल भ्रमण नगर्न भन्दै अस्थायी ट्राभल एड्भाइजरी पनि जारी गरे । अन्तर्राष्ट्रिय समुदायमा नेपाल असुरक्षित रहेको सन्देश गयो ।

तर शनिबार सम्पन्न दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) यस नकारात्मक सन्देशलाई केही हदसम्म चिर्न सफल भयो ।

यस्तो पृष्ठभूमिमा भएको एनपिएलमा विदेशी खेलाडीहरू समेत खेल्नका लागि नेपाल आए । त्रिवि क्रिकेट मैदानमा हजारौं संख्याको भिड व्यवस्थापनमा सफलतापूर्वक एनपिएल सम्पन्न पनि भयो । एनपिएलले युवा पुस्तालाई खेलमार्फत एकताबद्ध बनायो भने विदेशी खेलाडीले पनि सुरक्षित रूपमा निर्धक्क आफ्ना खेल कोशल प्रदर्शन गरे । जसका कारण एनपिएलले अन्तर्राष्ट्रिय समुदायमा नेपाल सुरक्षित रहेको सन्देश दियो भने खेललाई पर्यटनसँग जोडेर मुलुकमा आर्थिक गतिविधि बढाउन सकिने आशा पनि दियो ।

प्रधानमन्त्री सुशीला कार्कीले फाइनल प्रतिस्पर्धा हुनु अगाडि दुवै टिमलाई शुभकामना दिँदै एनपिएलको सफलताले सिंगो जिताएको बताएकी थिइन् । 

सामाजिक सञ्जाल (फेसबुक)मा उनले लेखेकी थिइन्, ‘यस उत्सवले सिंगो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।’

शनिबार हजारौं दर्शकका माझ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जित्यो । लगतार दोस्रो सिजन फाइनलमा पुगेको सुदूरपश्चिम भने यसपटक पनि उपविजेतामै सीमित हुन पुग्यो । पहिलो संस्करणमा पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेतामै सीमित भएको थियो ।

शनिबारको फाइनल खेलमा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । १३ बल खेलेका दिनेशले एक चौका र पाँच छक्का प्रहार गरे ।

डार्सी सर्टले १३ बलमा ३ चौकाको सहयोगमा १४ रन बनाए । कप्तान रोहित पौडेलले १२ बलमा दुई चौका र एक छक्को सहयोगमा १६ रन बनाए । निरोशन डिक्वेल ११ रनमा नटआउट रहे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अविनाश बोहोरा र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९ दशमलव एक ओभरमा ८५ रन बनाउँदै अलआउट भयो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । ५१ बल खेलेका उनले एक चौकामात्र प्रहार गरे ।

कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०–१० रन बनाए । लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीन–तीन विकेट लिए भने टीका भण्डारीले एक विकेट लिए ।

यससँगै लुम्बिनीले उपाधिसहित एक करोड १० लाख रुपैयाँ हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन बलर रुबेन ट्रम्पलमेन घोषित भए । उनले प्रतियोगितामा १५ विकेट लिएका थिए । उनले ५ लाख रुपैयाँ प्राप्त गरे । उनी फाइनल खेलको प्लेयर अफ द म्याच पनि घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल घोषित भए । सर्वोत्कृष्ट खेलाडी घोषित रोहितले ओमोडा कार प्राप्त गरे । उक्त कारको मूल्य ६१ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगर किंग्सका कप्तान सन्दीप लामिछाने घोषित भए । उनले पल्सर बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि लुम्बिनीका कप्तान रोहित नै घोषित भए । यसबापत उनले पल्सर बाइक प्राप्त गरे ।

रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भए । उनले प्रतियोगितामा १७ विकेट लिएका थिए । उनले पल्सर बाइक प्राप्त गरे ।

इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट लुम्बिनीका तिलकराज भण्डारी घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनीकै शेर मल्ल घोषित भए । उनले पल्सर बाइक प्राप्त गरे ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए ।

सम्बन्धित खबर