२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हैजाको डर

ADV
दिवाकर अधिकारी
२०८१ साउन १३ गते ०६:५५
हैजाको डर

काठमाडौं : नेपालमा हैजा फैलँदो अवस्थामा रहेको पाइएको छ । ललितपुरमा देखा परेको हैजाले काठमाडौं उपत्यकाबासीलाई त्रसित बनाएको छ । यही बेला कैलालीमा समेत तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ । कैलालीमा समेत हैजाको संक्रमण पुष्टि भएपछि सरकार देशभर सतर्कता अपनाउनुपर्ने निष्कर्षमा पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर १० जनामा हैजा संक्रमण पुष्टि भएको छ । ललितपुरमा मात्रै सात जनामा हैजा पुष्टि भएको छ भने कैलालीमा तीन जनामा हैजा पुष्टि भएको हो ।    

चिकित्सकहरूका अनुसार हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण हुन्छ । हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको हुन्छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि हैजा फैलिने अवस्थासँग अर्थ राख्दछ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा हुने संक्रमण हो । यसलाई अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग पनि भनिन्छ । उनी भन्छन्, ‘हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।’

उनका अनुसार हैजा संक्रमणका लक्षणहरू पाँच दिनसम्म देखा पर्छन् । हैजा संक्रमण भयो र उपचार समयमा पाएन भने केही घण्टामै संक्रमितको मृत्यु पनि हुनसक्छ । डा. पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुन्, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ । 

डा. पुनका अनुसार तीनवटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिन्छ । जसमा सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अनुगमन पर्दछन् । स्वच्छ पानी सेवन गर्नु गरे हैजा फैलँदैन । दुषित पानीबाट एकदमै सहज र सरल तरिकाले हैजा फैलिने गर्दछ । 

अधिकांश मानिसले धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन्, तर जारको पानी धेरैले त्यसो गर्दैनन् । किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाँदा समेत हैजा फैलिने डर हुन्छ । विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ । व्यवसायीले प्रशोधित नगरेका पानी बजारमा पठाउँदा हैजाको संक्रमण ज्यादा फैलिने डर रहन्छ ।

डा. पुन व्यक्तिगत सरसफाइ समेत व्यवहारमा लागू भएको नदेखिएको बताउँछन् । उनका अनुसार शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरू फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरू कुनै कारणले बगेर फेरि खानेपानीमा आइपुग्न सक्छन् ।

बजारमा कस्तो पानी पुगिरहेको छ भनेर सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा पठाए त्यसले समस्या पार्न सक्छ । यसका सम्बन्धमा सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्दा हैजा नियन्त्रण गर्न सकिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise