२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

एमालेमा सामान्य सुधार, पार्टी नेतृत्वमा आए १५ युवा 

shivam cement
अस्मिता बम
२०८२ पुष ३ गते ०८:०५
Shares
एमालेमा सामान्य सुधार, पार्टी नेतृत्वमा आए १५ युवा 

काठमाडौँ : ‘४० वर्षमुनिका युवाहरू उठिदिनुस् त’ नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु गर्दै अध्यक्ष ओलीले भनेका थिए, ‘अब ढुक्क हुन सकिन्छ । हाम्रो पार्टी नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको सिलसिलाबाट अघि बढ्दै छ ।’ 

ओलीले भनेझैं विघटित प्रतिनिधि सभाको सबैभन्दा ठुलो वामपन्थी दल एमालेले केन्द्रीय कमिटीमा युवा प्रतिनिधित्व बढाएको छ । केन्द्रीय कमिटीमा ४० वर्षमुनिका १५ युवा पुग्दै छन् । महाधिवेशन प्रतिनिधि चयनदेखि नै त्यसको गृहकार्य गरिएको थियो । प्रत्येक निर्वाचन क्षेत्रबाट एक जनाका दरले १ सय ६५ युवा प्रतिनिधि छनोट गरिएका थिए ।  

जेनजी विद्रोहपछि पार्टी संरचनामा परिवर्तन देख्न चाहेको पार्टी पंक्तिलाई एमालेले युवा प्रतिनिधित्व बढाएर आश्वस्त पार्ने कोसिस गरेको देखिन्छ । एमालेलगायत पुराना दलहरू पार्टी नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्व बढाउनुपर्ने दबाबमा छन् । आउँदो चुनावमा निर्णायक उमेर समूह ठानिएको युवा पुस्ताको प्रतिनिधित्वमार्फत एमालेले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सन्देश दिन खोजेको छ । एमालेले पहिलोपटक कोटा तोकेरै पार्टी केन्द्रमा युवालाई पु¥याएको हो । 

एमालेमा हरेक प्रदेशबाट एक÷एक जना युवा सदस्य केन्द्रमा पुगेका छन् । सात प्रदेशबाट एक÷एक जना र काठमाडौं उपत्यकाबाट एकसहित आठ युवा केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै, दलितबाट एक, जनजाति, मधेसी र खुला प्रतिस्पर्धाबाट दुई÷दुई युवालाई केन्द्रीय कमिटीमा ल्याइएको छ । जुन ३ सय एक सदस्यीय केन्द्रीय कमिटीको झन्डै ५ प्रतिशत हो । पहिलोपटक यस्तो व्यवस्था नभएकाले सकारात्मक लिनुपर्ने युवा नेता उषाकिरण तिम्सेना बताउँछिन् । ‘यो पर्याप्त होइन तर सकारात्मक छ । यसले पार्टी नेतृत्वमा युवा हस्तक्षेप बढ्दै जान्छ,’ उनले भनिन् ।  

१९ सदस्यीय पदाधिकारीमा भने युवा संख्या शून्य छ । जबकि महाधिवेशनका झन्डै ५० प्रतिशत प्रतिनिधि ५० वर्षमुनिका छन् । तर उम्मेदवार भने एक जना मात्र थिइन्, रचना खड्का । ‘त्यो उमेर समूहबाट एक्लो म मात्र उम्मेदवार थिएँ,’ उनले भनिन् । 

युवाको प्रतिनिधित्व मात्र होइन, एमालेले नेतृत्व तहमा नयाँ नेता पनि खोजेको देखिन्छ । पुराना नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र केशव बडालले ७० वर्ष कटेको भन्दै सक्रिय राजनीतिबाट बिदा लिए । उनीहरूले पार्टीमा युवा पुस्ता अघि बढाउनुपर्ने सन्देश दिए । त्यस्तै, १०औं महाधिवेशनमा खुम्चिएको आन्तरिक लोकतन्त्रको अभ्यास ११औं महाधिवेशनमा खुलेर भएको छ । ‘पार्टीमा राम्रो लोकतान्त्रिक अभ्यास भएको छ,’ युवा नेता तिम्सेना भन्छिन्, ‘मैले चाहेजस्तो परिवर्तन नहुन सक्छ । तर जति भएको छ राम्रो भइरहेको छ । हाम्रो पक्षमा नतिजा नआए पनि हामी लागिरहन्छौं ।’ 

अध्यक्षका प्रत्यासी पोखरेल अब एमालेलाई बदलिएको परिस्थितिअनुरूप पार्टीमा, विचारमा र कार्यसम्पादन शैलीमा पुनः व्यवस्थित गर्नुपर्ने बताए । ‘पार्टीमा समयानुकूल सुधार हुँदै जानुपर्छ । सबैभन्दा मुख्य कुरा अब पार्टी विधि पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ,’ उनले भने । 

बन्दसत्रमा ओलीले पार्टीमा महिला, मधेसी, युवा र उत्पीडित वर्गको प्रतिनिधित्व बढेको भन्दै खुसी व्यक्त गरेका थिए । ‘यो सुन्दर प्रतिनिधित्व हो,’ उनको भनाइ थियो, ‘सयौं थुँगा फूलका हामी एउटै माला एमाले, एउटै माला नेपाली राख्न हामीले असाधारण संघर्ष गरेका छौं ।’ समुदायबीच फाटो ल्याउन, स्वार्थको रोटी सेक्न र भावना भड्काउन खोजिए पनि एमालेले नदिएको उनको दाबी थियो । त्यसमा एमाले कार्यकर्ताले गर्व गर्नुपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘हाम्रो पार्टीप्रति हामीले गर्व गर्नुपर्छ । राष्ट्रियता हामीले सीमानामा मात्र होइन, जनताको मन मनमा जोगाएका छौं ।’ 

सम्बन्धित खबर