२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

‘वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित बनाउन स्थानीय सरकार प्रतिबद्ध’

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष ३ गते २१:५८
Shares
‘वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित बनाउन स्थानीय सरकार प्रतिबद्ध’

रौतहट : नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गौर नगरपालिकाको नेतृत्वमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२५ रौतहटको सदरमुकाम गौरमा विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । सुरक्षित आप्रवासनको आधार, सूचना र सिपसहितको रोजगार भन्ने मूल नाराका साथ आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, रौतहटद्वारा आयोजना गरिएको उक्त कार्यक्रम गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न भएको हो । 

गौरस्थित ऐतिहासिक घण्टाघर परिसरमा आयोजित कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो । सो अवसरमा वैदेशिक रोजगारीका क्रममा विभिन्न गन्तव्य मुलुकहरूमा ज्यान गुमाएका ज्ञात तथा अज्ञात नेपाली श्रमिकहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । मृतक श्रमिकहरूको आत्माको शान्तिको कामना गर्दै उनीहरूको योगदानको कदरस्वरूप सामूहिक रूपमा दीप प्रज्वलन समेत गरिएको थियो । 

कार्यक्रममा सुरक्षित आप्रवासनका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिका रूपमा जिल्ला संयोजक हरिनारायण साह, आप्रवासी कामदार हकहित संरक्षण केन्द्र रौतहटका अध्यक्ष विनय कुमार साह, ईशनाथ नगरपालिकाकी रोजगार सूचना परामर्शकर्ता पूजा गिरी तथा दुर्गा भगवती गाउँपालिकाका रोजगार सूचना परामर्शकर्ता सोनु साहलगायतको उपस्थिति रहेको थियो ।  

यसका साथै सामी कार्यक्रमका सरकारी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधि तथा वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको कुशल सञ्चालन उद्घोषक इन्दल कुमार सिंहले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शम्भु साहले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन स्थानीय सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताए । उनले वैदेशिक रोजगारीमा जानुअघि सही सूचना लिने र आवश्यक सीप हासिल गरेर मात्र विदेश जान आग्रह गरेका छन् । आप्रवासी कामदार तथा उनीहरूको परिवारको हकहित संरक्षणका लागि नगरपालिकाले निरन्तर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

संयोजक साहसहित अन्य वक्ताहरूले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, कानुनी झन्झट तथा असुरक्षालाई न्यूनीकरण गर्न सामी कार्यक्रममार्फत परामर्श, सूचना र कानुनी सहायता प्रदान गर्दै आएको जानकारी गराए ।

कार्यक्रमको समापन गर्दै सिंहले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसले रौतहटबासी आप्रवासी श्रमिकहरूमा नयाँ चेतना, एकता र सुरक्षित आप्रवासनप्रतिको विश्वास अभिवृद्धि गरेको उल्लेख गर्दै कार्यक्रम अत्यन्तै सफल र भव्य रूपमा सम्पन्न भएको जानकारी दिए ।

सामी कार्यक्रमले जिल्लाका विभिन्न पालिकाहरूमा वैदेशिक रोजगारीमा रहेका कामदारका परिवारलाई लक्षित गरी वित्तीय साक्षरता, मनोसामाजिक परामर्श तथा सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

सम्बन्धित खबर