
काठमाडौं : काठमाडौं उपत्यकामा दैनिक पर्याप्त, स्वच्छ र नियमित खानेपानी आपूर्ति गर्न मेलम्चीको पानी ल्याएको पाँच वर्ष भयो । दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट आउँछ । तर ५० लाख जनसंख्या भएको काठमाडौंमा मेलम्चीको पानी नियमित आपूति हुन सकिरहेको छैन ।
अझै पनि काठमाडौंको व्यस्त सहर र साँघुरा सडकमा पानी पुर्याउन नसकिएको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्थी बताउँछन् ।
मेलेम्चीको पानी पुगे पनि लिकेजको समस्या छ । ‘पुरानो पाइप लाइन भएका अधिकांश पाइपहरूमा लिकेजको समस्या छ,’ उनले भने, ‘साँघुरा एकै गल्लीहरूमा विद्युत्, पानी, ढल र टेलिफोनका तार पनि जोडनुपर्ने भएकाले समस्या देखिएको हो ।
काठमाडौंभित्र एक सय वर्ष पुरानो पाइप प्रणालीका कारण ३० देखि ४० प्रतिशत पानी चुहावट भएर खेर जाने गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । हाल मेलम्चीको पानी महाराजगन्ज, बानेश्वर र ललितपुरका केही भागमा मेलम्चीको पानी पुगेको तर नियमित भएको छैन ।
प्रायः ठाउँहरूमा हप्तामा एक दुईपटक मात्र आउने गरेका छन् । आयोजना सुरु भएको करिब २२ वर्षमा पानी काठमाडौं आइपुगेको भए पनि मेलम्चीको खानेपानी आयोजना २०७७ साल फागुन २२ गते पहिलोपटक सुन्दरीजलमा ल्याइएको थियो । चैत १५ गते मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा पुगेको थियो ।
२०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको उद्घाटन गरेकी थिइन् । आयोजनाको उद्घाटन गरेको तीन महिना नहुँदै काठमाडौं उपत्यकामा दीर्घकालीन खानेपानी अभाव समाधान गर्न सुरु गरिएको नेपालको सबैभन्दा ठुलो खानेपानी आयोजना मेलम्ची नै बाढीले बगाइदियो । ३५ अर्ब बढी खर्च भएको यो आयोजना त्यसयता अस्थायी रूपमै सञ्चालनमा छ । ‘२०७८ साल फागुनमा आएको बाढीले आयोजनाको संरचना बगाई दियो सूचना अधिकारी पन्थीले भने, ‘त्यसयता अस्थायी संरचनामा नै पानी ल्याइरहेका छौं ।’
मेलम्ची नदीदेखि सुन्दरी जलसम्म २६ दशमलव ५ किमी सुरुङमार्फत उपत्यकामा पानी ल्याएर वितरण भइरहेको छ । नदीमा डाइभर्सन गरेर उपत्यकाको सुन्दरी जलमा प्रशोधन गरेर ट्यांकी, पाइपलाइन प्रणालीबाट वितरण गरिएको छ ।
पानी आपूर्तिको समस्याले नागरिक हैरान छन् । पानीको प्यास मेट्ने आसमा काठमाडौंवासीले चार दशक बिताए । आयोजना बन्यो र पानी पनि आयो । तर पाइप पु¥याउनै नसक्दा कैंयन घरमा पानी पुग्न सकेको छैन । पानी पुगेको ठाउँमा पनि चुहावट समस्याले नागरिक हैरान छन् ।
सन् १९८८ मा बिन्नी एन्ड एसोसिएट्स लन्डनले मल्टिडिसिप्लिनरी कन्स्टलट्यान्ट काठमाडौंको सहयोगमा सम्पन्न गरेको ‘काठमाडौं–ललितपुरमा काठमाडौं बाहिरबाट पानी आपूर्ति’सम्बन्धी सम्भाव्यता अध्ययनले मेलम्ची आयोजनाको विस्तृत आर्थिक तथा प्राविधिक सम्भाव्यतासमेत विश्लेषण गरेको थियो । बिन्नीले त्रिशूली, मेलम्ची, इन्द्रावतीसहितका २२ वटा विकल्पमध्ये आर्थिक र प्राविधिक रूपमा मेलम्ची छानेको थियो ।
त्यसबेलादेखिको सपना पूरा भए तापनि प्रभावकारी हुन नसक्दा नागरिकका गुनासा रहेका हुन् । यसमा समस्या पाइपमै रहेको सरोकारवाला बताउँछन् ।
नेपालमा व्यवस्थित पाइप प्रणालीबाट खानेपानी वितरण गर्ने कार्य सन् १८९५ मा राणा प्रधानमन्त्री वीरसमशेरको पालामा पानी गोश्वारा अड्डाको स्थापना गरी वीरधारा प्रणालीको निर्माणबाट सुरु भएको हो । अझै पनि ती पुराना पाइप प्रयोग गरेर पानी वितरण गरिँदै आएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड प्रवक्ता प्रकाशकुमार राईले उपत्यकावासीको पानीको मागलाई पूर्ति गर्न यांग्री र लार्केको पानी पनि मिसाउनुपर्ने बताउँछन् । यांग्र्री र लार्के नदी जोड्ने दोस्रो चरणको काम भइरहेको छ । त्यसबाट थप १७ करोड लिटर प्रतिदिन क्षमता वृद्धि गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ ।
बढ्दो जनसंख्या र पानीको माग आपूर्ति गर्न दोस्रो चरणमा मेलम्चीको पानीमा यांग्र्री र लार्के खोलाका पानीसमेत मिसाउने योजना २० किलोमिटर टनेल निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । पानीको कुल परिमाणः मेलम्चीको १७ करोडमा यांग्र्री र लार्केको गरी १७÷१७ करोड लिटर जोडेर कुल दैनिक ५१ करोड लिटर पानी आपूर्ति गर्ने योजना बनाइएको राईले बताए ।
पानी आपूर्ति गर्न थप दुईवटा सुरुङ लार्केबाट यांग्र्रीमा पानी खसाउन २ किमि लामो अनि यांग्र्रीबाट मेलम्चीमा पानी खसाउन झन्डै ९ दशमलव ५ किमि लामो अर्को सुरुङको काम भइरहेको छ,’ उनले भने । त्यसका लागि अनुमानमा थप २५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ ।
यांग्र्री खोलाको आयोजना निर्माणस्थलसम्मको पहुँच मार्ग निर्माणाधीन, सडक निर्माणपश्चात् सुरुङ तथा हेडबक्र्सको ठेक्का लगाएर काम भइरहेको छ ।
मेलम्ची आयोजनाको मुख्य पूर्वाधार भनेको झन्डै २७ किलोमिटर लामो सुरुङ निर्माण रहेको छ । २०६५ सालमा सुरुङ निर्माण गर्न चाइना रेलवे कम्पनीसँग ठेक्का सम्झौता गरिएको आयोजनाले जनाएको छ । त्यसपश्चात् २०६६ सालको सुरुमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम सुरु गरिएको थियो भने २०६९ सालमा ६ किलोमिटर निर्माण गरिसकेपछि ठेक्का रद्द गरिएको थियो । आयोजनाको अनुसार २०७० सालमा बाँकी सुरुङ निर्माण गर्न इटलीको सिएमसीलाई ठेक्का दिएको थियो ।
२०७५ सालमा २५ किमिभन्दा बढी सुरुङ खनिसकपछि पनी विभिन्न विवादका कारण ठेक्का रद्द भएको थियो । २०७७ असार २१ गते सुरुङको पहिलो परीक्षण तर ३१ गते दुर्घटना भएपछि केही समयमाका लागि स्थगित भएको थियो ।
२०७७ साल फागुन १० गते सुरुङमा पानी प्रवाह गरिएको आयोजनाले जनाएको छ ।