
रौतहट : रौतहटको सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालय सरकारले खारेज गर्ने निर्णयविरुद्ध व्यापारी तथा उद्योगीहरूले विरोध प्रदर्शन गरेका छन् । रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारी तथा उद्योगीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा गौर बजार पूर्णरूपमा प्रभावित बनेको उद्योग वाणिज्य संघ रौतहटले जनाएको छ । शुक्रबार बिहान गौर नगरपालिका–५ स्थित करदाता सेवा कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै विरोध प्रदर्शन सुरु भएको थियो । रौतहट उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष रविन्द्रनाथ गोपालीको नेतृत्वमा भेला भएका सयौंको संख्यामा रहेका स्थानीय व्यापारी र व्यवसायीहरूले सरकारको निर्णय आत्मघाती भएको भन्दै चर्को नाराबाजी गरेका थिए ।
कार्यालय अगाडि धर्ना दिएपछि निकालिएको विरोध र्यालीले सदरमुकाम गौरको मुख्य बजार परिक्रमा गरेको थियो । व्यवसायीहरूले स्वःस्फूर्त रूपमा आफ्ना पसल तथा व्यवसायहरू बन्द गरी आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय फिर्ता गर, व्यवसायीलाई दुःख दिने काम बन्द गर जस्ता नाराहरू लगाउँदै प्रदर्शनकारीहरूले नगर क्षेत्रको परिक्रमा गरेका थिए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै गोपालीले राज्यलाई ठूलो मात्रामा राजस्व बुझाउने जिल्लाको सदरमुकामबाटै सेवा कार्यालय हटाउनुले व्यवसायीहरूलाई हतोत्साहित बनाएको बताए । उनले भने, ‘सदरमुकाममा रहेको कार्यालय खारेज गरेर व्यवसायीहरूलाई सामान्य कामका लागि पनि टाढा धाउन बाध्य पार्नु अन्यायपूर्ण छ । सरकारले यो निर्णय तुरुन्त फिर्ता नलिए आन्दोलनलाई थप सशक्त बनाइनेछ ।’
करदाता सेवा कार्यालय खारेजीले साना तथा ठूला व्यवसायीहरूलाई कर चुक्ता, नयाँ दर्ता र अन्य प्रशासनिक कार्यमा निकै सास्ती हुने स्थानीय व्यापारीहरूको गुनासो छ । प्रदर्शनमा गौरका विभिन्न वस्तुगत संघ–संगठनका प्रतिनिधिहरूको समेत ठूलो उपस्थिति रहेको थियो । व्यवसायीहरूले माग पूरा नभएसम्म चरणबद्ध रूपमा आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।